काठमाडौं : नाबालिग गायिकामाथि बलात्कार आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका पल शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन्।
जिल्ला अदालत तनहुँले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन दिएको आदेश बदर गरी पाउँ भन्दै उनका कानुन व्यावसायी उच्च अदालत पुगेका हुन्।
शाहका कानुन व्यवसायी निवेदन लिएर मंगलबार उच्च अदालत पोखरा आएको उप-रजिष्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए।
‘तनहुँ जिल्ला अदालतले पुर्पक्षको लागि शाहलाई थुनामा पठाउन आदेश गरेको थियो। त्यो आदेश बदर गरी पाउँ भनेर यहाँ निवेदन परेको हो,’ आचार्यले भने, ‘दर्ता भएको छ।’
फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम उच्च अदालतमा शाहका कानुन व्यवसायीले निवेदन दिएका हुन्।
चेत १० गते बिहीबार उनलाई जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।
बलात्कार मतियारका अभियोग लागेका पलका म्यानेजर कृष्ण जोशी एक लाख धरौटी बुझाएर छुटेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम् १४ वर्ष कैद सजायको माग गरेको थियो।
नाबालिग गायिकाले झुटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो।
परिवारले फागुन ११ गते उजुरी दिएपछि बेपत्ता भएका पल १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए। पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएका थिए।
नवलपुर प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमार्फत चैत ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ।




