
जनकपुरधाम - गर्मी बढ्दो छ। यतिबेला जुस र फलफूल पसलमा भिड ह्वातै बढेकोले धनुषाको मिथिला नगरपालिकाको मुख्यबजार केन्द्र ढल्केवरका तरबुजा व्यापारीहरुलाई भ्याई नभ्याई भएको छ।

पूर्वपश्चिम राजमार्गमा हुइँकिने अधिकांश बस तथा निजी गाडी समेत ढल्केबरमा रोकिन्छन्। र गर्मी याममा निकै लाभदायी मानिएको तरबुजा खरिद गर्न यात्रुको भिड लाग्छ।

पूर्वपश्चिम राजमार्गको ढल्केवरमा अहिले तरबुजा बिक्री केन्द्रहरु राखी दैनिक लाखौंको कारोकार भइरहेको छ। मिथिला नगरपालिकाको मुख्य बजारकेन्द्रको रुपमा रहेको ढल्केबरमा बिक्री हुने तरबुजा भारतको उडिसा, कलकता, सिलगढी लगायतका ठाउँहरुबाट भित्रिने गर्दछ।

उपभोक्ताहरुले स्थानीय उत्पादनमा रुचि राखे पनि सरोकारबाला निकायहरुले उत्पादन वृद्धिको लागि खासै ठोस रणनीति योजनाहरु तयार गर्न नसक्दा स्थानीय उत्पादन भन्दा आयातित तरबुजाले बजार लिएको हो।
ढल्केवरका एक तरबुजा व्यापारी विजय साह स्थानीय किसानलाई राज्यले तरबुजा उत्पादन वृद्धि गर्न र चिस्यान केन्द्र स्थापना गरी भण्डारण र बजारीकरणमा सहयोग गर्नुपर्ने बताउँछन्।
धनुषाको ढल्केबर बजारमा तरबुजा प्रतिकिलो ३० देखि ३५ रुपैयाँ तथा प्रतिगोटाका हिसाबले बिक्री हुने गरेको ढल्केबर कै व्यापारी उमाशंकर महतो बताउँछन्। तरबुजा काटेर एक चानाको २०-३० रुपैयाँमा बिक्छ। ढल्केबरमा अहिले दुई दर्जनभन्दा बढी स्थानबाट अस्थायी टहरा निर्माण गरी तरबुजाको व्यापार हुने गरेको छ। यहाँ दैनिक १० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने व्यापारीहरु बताउँछन्।

होलसेल बिक्रेताका रुपमा रहेको अञ्जली एन्ड अंकित ताजा फलफूल स्टोर्सका सञ्चालक पञ्चदेव साह र बैजनाथ चौधरीले भारतको उडिसा लगायतका राज्यबाट तरबुजा झिकाई अन्य व्यापारीलाई बिक्री गर्ने गरेका छन्। आफ्नो स्टोर्सबाट मात्र दैनिक १ लाखको खुद्रा तरबुजा बिक्री हुने गरेको उनीहरु बताउँछन्।
भारतबाट ल्याउँदा तरबुजा खरिद बाहेक ढुवानीमा मात्रै चारदेखि पाँच लाख रुपियाँ खर्च लाग्ने हुँदा स्थानीय उत्पादनको तुलनामा केही महँगो भएको चौधरीले बताए ।

उनले यहाँ फागुनदेखि नै सुरु हुने तरबुजाको कारोबार असारसम्म हुने गरेको तर यहाँको स्थानीय उत्पादन वैशाख महिनाको दोस्रो-तेस्रो सातापछि मात्र बजारमा आउने गरेको बताए । उनले भने, ‘तरबुजाको कारोबार भने फागुनको दोश्रो साताबाटै सुरु हुन्छ । ग्राहकको मागलाई परिपूर्ति गर्नकै लागि भए पनि भारतबाट आयात गर्नु पर्ने हुन्छ।’
एक दशकदेखि सिजनमा तरबुजाको व्यापार गर्ने गरेको बताउँदै चौधरीले भने, ‘अहिले जनकपुर, वीरगन्ज, काठमाडौं, पोखरा लगायत सहरका व्यापारीले यहीँबाट तरबुजा लाने गरेका छन्।’
यता आधुनिक कृषि प्रणालीको अभावमा स्थानीय उत्पादन लोप भइरहेको छ। यस्तो अवस्थमाका ठूलो सम्भावना रहेको तरबुजा खेतीको उत्पादन बढाउन स्थानीय र प्रदेश सरकार गम्भीर हुनुपर्ने बताउँछन्, ढल्केवर कृषि बजारका व्यवस्थापक शम्भु दास।
धनुषाको प्रायः पूर्वी-उत्तरी क्षेत्रमा उत्पादन हुने खरबुजाबाट राम्रो आम्दानी हुन थालेपछि प्रत्येक वर्ष व्यवसायिक रुपमै किसानहरुले खेती गर्न थालेका छन्। यो क्षेत्रमा यस वर्ष ५ सय २० हेक्टर क्षेत्रफलमा लगाइएको खरबुजा खेतीले १९ हजार ९८ मेट्रिक टन उत्पादन भएको धनुषा कृषि ज्ञान केन्द्रले जनाएको छ।
धनुषामा खरबुजाको लागि इनरुवा, मल्हनिया, सघारा, लक्कड, सिंग्याही मडान, कटरैत, धनुषाधाम, पर्वता, सिकियाही लगायतका पूर्वी क्षेत्र पकेट एरियाको रुपमा मानिन्छन्। यद्यपि माग अनुसारको स्थानीय उत्पादन हुन नसकेको हुँदा भारतीय उत्पादनले बजार पाएको छ।

यो फल प्रायः खोलाको बालुवा वा पानी नजम्ने बालुवा माटोमा उब्जनी हुने गरेको कटरैतका किसान इन्द्रेश यादवले बताए।
आयुर्वेद अस्पतालका वैद्य श्याम गिरि तरबुजा निकै फाइदाजनक रहेको बताउँछन्। ‘तरबुजामा पानीको मात्रा प्रशस्त हुन्छ। यसको सेवनले सामान्यतया तिर्खा मेटाउन र पानीको मात्रा शरीरमा सन्तुलित गर्न मद्दत गर्छ। यसका प्रशस्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सिडेन्टहरु पनि पाइन्छ,’ उनले भने।
बगर खेतीको रुपमा गरिने मौसमी फल तरबुजाको स्थानीय उत्पादन बढाउन स्थानीय र प्रदेश सरकारले विशेष योजना ल्याउनुपर्ने किसानहरु बताउँछन्।
सामुदायिक वन उपभोक्ता महासंघ मधेस प्रदेश का अध्यक्ष सोमप्रसाद शर्माले प्रदेश सरकारले नै तरबुजाका साथै मौसमी फलफूल खेतीलाई वृद्धि गर्न विशेष योजना ल्याउनुपर्ने बताए। ’किसानहरुलाई खेतीका लागि सहुलित दरको ऋण तथा अनुदानको व्यवस्था गर्नुपर्छ,’ उनले भने।