काठमाडौं। बूढानीलकण्ठ नगरपालिकाले नगरको धार्मिक, सांस्कृतिक तथा सामाजिक विकास गर्ने उद्देश्यले सांस्कृतिक प्रज्ञाप्रतिष्ठान स्थापना गर्ने भएको छ। कपन साहित्य समाजको आयोजनामा आज यात्री स्मृति कक्षमा भएको ‘नवनिर्वाचित जनप्रतिनिधि सम्मान’ कार्यक्रममा नगर प्रमुख तथा उपप्रमुखले ‘कल्चरल एकेडेमी’का माध्यमबाट नगरको सामाजिक उन्नयन तथा सांस्कृतिक रुपान्तरण गर्नाका साथै प्राकृतिक तथा भौतिक सम्पदाको संरक्षण र विकास गरिने बताए।
सो अवसरमा नगर प्रमुख तथा समाजका संस्थापक अध्यक्ष मीठाराम अधिकारीले आगामी असार ९ गते हुने नगर परिषद्का लागि विस्तृत परियोजना प्रतिवेदनका साथ आफ्ना कार्यक्रम माग गर्न समाजलाई आग्रह गरे। उपप्रमुख अनिता लामाले नगरका इतिहास, कला, संस्कृति, पर्यावरण विकास आदि समेटिने प्रज्ञाप्रतिष्ठान बनाइने प्रतिबद्धता व्यक्त गरिन्।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले आफ्नो संस्थाले पछिल्लो कार्यकालमा अप्राप्य ग्रन्थ र नयाँ गरी १५० कृति प्रकाशन गरेको जानकारी दिँदै शासकमा प्रज्ञा एवं सिर्जनाको महत्त्व बुझ्ने क्षमता हुनुपर्नेमा जोड दिए।




