जनकपुरधाम- मधेश सरकारको जिम्मा जनता समाजवादी पार्टीलाई दिने तयारीमा रहेको सत्तारुढ गठबन्धन हाल मधेश सरकारको नेतृत्व गरिरहेका जनमत पार्टी भित्र खेल्ने प्रयास शुरु गरेको छ ।
स्टन्टबाजीका कारण मिडियामा चर्चामा रहदै आएका सत्तारुढ नेकपा एमालेका नेता महेश बस्नेतले पछिल्लो समय जनमत पार्टीका अध्यक्ष सिके राउत र मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह बीच खेल्ने प्रयास शुरु गरेको छ ।
बस्नेतले जनमत पार्टीका अध्यक्ष सिके राउतले नै मधेश प्रदेशको मुख्यमन्त्री फेर्न चाहेको दाबी गरेका छ । मुख्यमन्त्री सतिशको भूमिका विवादास्पद देखिएको कारण राउतले उनलाई मुख्यमन्त्रीबाट हटाउन चाहेको नेता बस्नेतले दाबी गरेका छन् ।
सतिशले विभिन्न विद्रोही शक्तिहरुसँग मिलेर संविधान संशोधनको विरुद्धमा अभियान चलाउने भूमिका खेलेको, जनमत छाडेर महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीतिर जाने खोजेको कारण सिके राउतले उनलाई हटाउन खोजेको नेता बस्नेतको दाबी छ ।
‘अहिलेका मुख्यमन्त्री चाहीँ त्यति सफल हुनुभएन भन्ने कुरा आइरहेको छ । अहिलेका मुख्यमन्त्रीले मधेशका विभिन्न विद्रोही शक्तिहरुलाई समेटेर संविधान संशोधनविरुद्ध अभियान चलाउने भूमिका खेल्नुभएको छ भन्ने कुरा पनि आइरहेको छ । उहाँले सिके राउतको पार्टी छाडेर महन्थ ठाकुरको पार्टीमा जाँदै हुनुहुन्छ भन्ने कुरा पनि आएको छ । धेरै कुरा आएको, उहाँको छवि विवादित भइरहेको र सिके राउतले नै उहाँलाई फेर्न चाहिरहेको बेलामा दलहरुको बीचमा समझदारी बनाएर फेर्न कुरा हो,’– उनले भने ।
तर, जनमत पार्टीका प्रवक्ता शरत सिंह यादवले बस्नेतको अभिव्यक्ति कपोकल्पित, भ्रामक र पार्टी विरोधी गतिविधिको रहेको टिप्पणी गरेका छन् । उनले भने–‘पार्टीका अध्यक्ष डा. सिंके राउतले अहिले सम्म मुख्यमन्त्री फेर्ने वा कसै अरुलाई बनाउने विषयमा नसोचेका कारण मुख्यमन्त्री फेरिने कुरा गलत हो ।’
यस अघि जनता समाजवादी पार्टी नेपाललाई फुटाउन समेत बस्नेतले भूमिका खेलेको थियो । तत्कालिन जनता समाजवादी पार्टीको आन्तरिक विवाद साम्य पार्ने सहमति तत्कालिन अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बीच भएको केही घण्टा नबित्दै बस्नेतकै चाजो पाँजोमा राजेन्द्र महतो जसपा संसदीय दलको नेता बनेका थिए । ती बैठकको तस्विरमा समेत बस्नेत देखिएका थिए ।
मधेश केन्द्रित दल बीच खेल्नको लागि एमालेले बस्नेतलाई प्रयोग गर्दै आएको छ । तत्कालिन समाजवादी पार्टीलाई फुटाउन सांसद अपहरणमा समेत बस्नेतको भूमिका रहेको ती पार्टीका नेताहरुले आरोप लगाउँदै आएका छन् ।




