महोत्तरी - फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महोत्तरीमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित एक कार्यक्रमबीच मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख रञ्जिता झाले जानकारी दिनुभयो। उहाँका अनुसार निर्वाचनको सम्पूर्ण व्यवस्थापनलाई प्रभावकारी बनाउन आजैदेखि कार्यालय सञ्चालनमा ल्याइएको हो।
मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार जिल्ला सदरमुकाम जलेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय पनि आजैदेखि सञ्चालनमा ल्याइनेछ।
निर्वाचन व्यवस्थापनलाई सहज, पारदर्शी र प्रभावकारी बनाउन विभिन्न स्थानमा कार्यालयहरू स्थापना गरिएको जनाइएको छ। ती कार्यालयहरूबाट उम्मेदवार दर्ता, मतदाता सेवा, उजुरी दर्ता, समन्वय तथा अन्य प्रशासनिक कार्यहरू सञ्चालन गरिनेछ।

निर्वाचन क्षेत्रगत रूपमा निर्वाचन क्षेत्र नं. १ का लागि बर्दिवास उद्योग वाणिज्य संघको कार्यालय, निर्वाचन क्षेत्र नं. २ का लागि बलबा नगरपालिका–७ वनौटास्थित आधारभूत अस्पतालको भवन, निर्वाचन क्षेत्र नं. ३ का लागि जिल्ला समन्वय समितिको कार्यालय जलेश्वर तथा निर्वाचन क्षेत्र नं. ४ का लागि रामगोपालपुरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको छ।
मुख्य निर्वाचन अधिकृत अधिकारीका अनुसार निर्वाचन आयोगको कार्यतालिकाअनुसार अब उम्मेदवार दर्ता, नामावली प्रकाशन, दाबी–विरोध तथा आचारसंहिता कार्यान्वयनका प्रक्रिया क्रमशः सुरु गरिनेछ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो।




