राजकरण महतो /धनवीर महतो - झन्डै तीन दशकअघि किसानहरूले स्थापना गरेको साना किसान कृषि सहकारी संस्थामार्फत दूध उत्पादनमा क्रान्ति ल्याएका हुन्। सहकारीले किसानलाई आर्थिक रूपमा समृद्ध बनाउँदै लगेको छ।पशु पाल्ने। गाई—भैंसी चराउने। आहा ! गोठालो। उहिले कस्तो मान हुन्थ्यो, गोठालोको। अहिले त्यही पेसा कस्तो अपहेलित भयो। हैट ! हरकोहीको बालापनको एउटा हिस्सा थियो— गाई—भैंसी चराउने। घाँस काट्ने। गोबर सोहोर्ने। राष्ट्रपति रामवरण यादव पनि थिए, उहिलेका गोठाला। जसले भैंसी चराउँदै, घाँस काट्दै, गोबर सोहोर्दै, दूध दुहँदै स्कुल आउजाउ गरे। बाल्यकाल बिताए।
भारतको चण्डीगढमा डाक्टरी पढें। अनि बने मानवरूपी भगवान्को अर्को रूप डाक्टर। राजनीति गरे। नेपाली जनताको औजपूर्ण स्नेह पाए। गोठालोको पृष्ठभूमिबाट छलाङ मार्दै नेपालको प्रथम राष्ट्रपति बनेका हुन्, डा. रामवरण यादव। भेटघाट हुँदा सम्झिसम्झी उनी प्रेरणादायी कहानी सुनाउँछन्— बालापनदेखि गोठालासम्मका कथा। गर्व गर्छन्, गोठालो किसानको छोरो राष्ट्रपति बनेकोमा। मन गद्गद् हुन्छ, उनले चुरे वरिपरी गाई—भैंसी चराएको पलहरू सुनेर।

गोठाला रामवरणहरूको कृषि क्रान्ति
गत पुसमा पूर्वराष्ट्रपति यादवको छिमेकी जिल्ला महोत्तरीको गौशालास्थित कान्तिबजार पुगेका थियौं। जहाँ सयौं गोठाला रामवरण कृषि क्रान्तिको झिल्को बालिरहेका छन्। किसानहरूले गएको पाँच वर्षको अवधिमा ६ करोड १५ लाखको दूध उत्पादन गरे। उनीहरू आफैं सेयर सदस्य रहेको साना किसान कृषि सहकारीमा बिक्री गर्छन्। सहकारीले दुग्धजन्य परिकार बनाएर बिक्री गर्छ। किसान मालामाल भइरहेका छन् भने सहकारी नाफाको यात्रामा। यहाँका किसानले दैनिक ६ सय लिटर दूध उत्पादन गर्छन्।
गौशाला नगरपालिकामा पर्ने कान्तिबजार वरिपरिका बस्तीमा पुग्दा गज्जबका दृश्यहरू देखिन्छन्। गोठ र गोठालो नभएका घर भेटिनन्। घरैपिच्छे गाई—भैंसी पालेका किसानहरू यत्रतत्र सर्वत्र देखिन्छन्। भाले बासेसँगै कान्तिबजार वरिपरिका किसानको निद्रा खुल्छ। नित्यकर्म सक्नासाथ गोठ पस्छन्। गाउँकै सहकारीको डेरीमा दूध पुर्याउँछन्। गोठाला बिहान—बेलुका मनग्य दूध, दही, घिउ, मही खान्छन्। एकाबिहानैदेखि सुरु हुने दूध उत्पादन किसानको क्रान्तिको क्रम राति अबेरसम्म चलिरहन्छ। बारीमा घाँस काट्ने। गाईभैंसी स्याहार्ने। गोबर सोहोर्ने। यस्तै यस्तै गोठाला—पशुपालक किसानको दिनचर्या हुन्छ। जसले प्रकृति छुन्छ, माटो टेक्छ, गोबर खेलाउँछ र त ऊ सधैं स्वास्थ्य हुन्छ। आधुनिक पुस्ता गाई—भैंसी पाल्न—चराउन मान्दै मान्दैन। अमेरिका, अस्टे«लिया, क्यानडा आदि देश हानिन्छन्, भाँडा माझ्छन्। बरु सहरमा कुकुर डोहोर्याउनुलाई शान ठान्छन्। घरमा सिन्कोसम्म भाँच्दैनन्। केही त उडेर जान्छन् तर बन्द बकसमा फर्किन्छन्। आजभोलि गाउँका चौतारामा यस्ता कथाव्यथाहरू टन्नै सुनिन्छन्।
तर, कान्तिबजार वरिपरिका गाउँमा मेहनती पुस्ता हुर्किरहेका छन्। जसले धेरथोर पढेका छन्। गाउँमै गाईभैंसी पालेका छन्। उनीहरूले गाउँ धानेका छन्। गाउँमात्र हो र ? सहरलाई खुवाएका छन्, पियाएका छन्। टल्केने हीरासँग सेतो दूध साटिरहेका छन्। मनग्य कमाइरहेका छन्, जीवन चलाइरहेका छन्। छोराछोरीलाई पूर्वराष्ट्रपति डा. रामवरणजस्तै बनाउन गाउँघरकै स्कुल—कलेजमा घरकै भात खुवाएर पढाइरहेका छन्।

ग्रामीण जीवनमा अभाव र दुःखमात्रै छैन, आनन्द पनि छ। कान्तिबजार पुग्दा यस्तो भान हुन्छ। बस खाँचो छ, यस्तै ग्रामीण परिवेशमा स्विट्जरल्यान्डमा जस्तै सुविधायुक्त सडक सञ्जाल, स्वास्थ्य, शिक्षा र सञ्चारको। बस्, यत्ति भए नेपालका गाउँ सम्पन्न हुनेछन् र गाउँमा बस्ने नेपाली सुविधासम्पन्न हुनेछन्। यसले सहरलाई नि पूरै फाइदा पुग्नेछ। गाउँले कमाउँथ्यो, सहर त्यसमा रमाउँथ्यो। सरकारले नाक घोक्याउँथ्यो। चारैतिरका बजारमा गाउँको उत्पादन पुग्थ्यो र किसान पनि मालामाल हुन्थे।
यद्यपि, यहाँका दूध किसानले गाउँको अभावलाई अवसरमा बदलेका छन्। जसलाई पाखुराको बलमा विश्वास छ, परिश्रममा गर्व छ। वार्षिक करोडौंको दूध उत्पादन गरेर गोठालाहरूले देखाएका छन् साहसिक यात्रा। देशलाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन योगदान दिइरहेका छन्। गोठालाको दैनिकी गोठदेखि डेरीसम्म हुन्छ। बिहानदेखि साँझसम्म हुन्छ। सहरले देखोस् कि नदेखोस्, सरकारले सुनोस् कि नसुनोस्। गोठदेखि गाउँसम्म उनीहरूको संघर्षपूर्ण जिन्दगी चलिरहेको छ, जुन यिनको पाठशाला हो। जहाँबाट उत्पादित दूधबाट चियादेखि मिठाईसम्म तयार हुन्छ। दुनियाँ त्यसको स्वाद चाख्छन् र भन्छन्, ‘अहा ! क्या मीठो दूधको परिकार !’
मधेसको एउटा दूरदराजमा अवस्थित छ, कान्तिबजार। बस्तीको उत्तरतिर जंगल छ। दक्षिणतिर फराकिला फाँटहरू। जहाँ किसान तथा सहकारी नेता रामचन्द्र सिंह कुशवाहासहितले २०५३ सालतिर कृषि क्रान्तिको सपना बुने। त्यसका लागि साना किसान कृषि सहकारी संस्था गठन गरे। हालै उनको देहवसान भयो तर सहकारी एवं किसानका नेता उनले बालेको कृषि क्रान्तिको झिल्कोले उनकै जीवनकालमा विराट रूप लिइसकेको थियो।
पौरखी किसान, गुलजार बन्यो कान्तिबजार
क्रान्तिकारी यो गाउँमा सरकार पुगेकै छैन। अनुदान जसरी पुग्नुपर्ने हो, त्यसरी गएको छैन। खै कता बाटो बिरायो त्यो अनुदानले ? सरकारी सुविधाबाट कोसौं टाढा छन्, पशुपालक किसानहरू। मारमा छन्, गोठालाहरू। तर, पाखुराको बलमा कृषि क्रान्तिको इतिहास कोरिरहेका छन्। जसले मूर्तरूप लिँदैछ, कान्तिबजारको क्रान्तिले। कुरो २०३२ साल तिरको हो, जुन बेला यहाँ गरिब किसान—मजदुरहरू जमिनदारबिरुद्ध जेहाद छेडेका थिए। त्यसको नेतृत्व स्थानीय कम्युनिस्ट नेता महेन्द्रलाल लामाले गरेका थिए। जाली तमसुक बनाएर मिटरब्याजी साहुकार निर्धनलाई सताउँथे। धरधरी रुवाउथें। उठीबास लगाउथे। पञ्चायतकालमा किसानहरूले राँको बालेर गोलबन्द भए। ‘जालीफटाहा’ आन्दोलन चलाएका थिए। त्यहीका किसानहरू अहिले दूध उत्पादनको क्षेत्रमा क्रान्ति गरिरहेका छन्। तर, उनीहरूले पाउँदैनन्, राज्यले दिएको तक्मा—सम्मान।
बितेका पाँच वर्षमा एक—एक थोपो, लिटर–लिटर गरेर यहाँका पशु किसानले लाखौं लिटर दूध उत्पादन गरे। गौशालाको कान्तिबजार, लक्ष्मिनियाँ, भरतपुरलगायतका दर्जनौ गाउँमा गाईभैंसी नपाल्ने किसान नै भेटिन्नन्। झन्डै तीन दशकअघि किसानहरूले स्थापना गरेको साना किसान कृषि सहकारी संस्थामार्फत दूध उत्पादनमा क्रान्ति ल्याएका हुन्। सहकारीले किसानलाई आर्थिक रूपमा समृद्ध बनाउँदै लगेको छ। छरिएर रहेको पुँजी संकलनमा मद्दत पुर्याएको छ। बितेको पाँच वर्षमा किसानहरूले ६ करोड १५ लाख ५१ हजार मूल्यको ७ लाख ९६ हजार ५ सय ५७ लिटर दूध उत्पादन गरेका छन्। किसानबाट सहकारीले दूध संकलन गरेर दूध तथा दुग्धजन्य परिकार दही, पनिर, घिउलगायतका पदार्थ बिक्री गरेर ३५ लाखभन्दा बढी नाफा कमायो। जुन सहकारीको सेयर सदस्य किसान—गोठालाहरू नै छन्।
फेरियो गाई—भैंसी पाल्नेहरूका दिन
दुई—चार हजारका गर्जो टार्न गौशाला—१२ की ५० वर्षीया रामप्यारी महतोलाई कुनै समस्या छैन। गोठमा एक वटा होइन दुई, दुईवटा लैना भैंसी छन्। दिनकै १० लिटर दूध दिन्छ। बिहानै बेलुका गाउँको सहकारीले दूध किनिदिन्छ। उनलाई उत्पादित दूध बिक्री गर्न कुनै समस्या छैन। सहकारी भैंसीपालक किसानका लागि बरदान नै सावित भएको छ। भन्छिन्, ‘सजिलै सहकारीले ऋण दिन्छ, पशु उपचारको गर्न गोठमै डाक्टर पठाइदिन्छ। उत्पादित दूध गाउँमै किनिदिन्छ। खातामै पैसा पठाइन्छ। चाहिएको बेला ऋण पनि दिन्छ।’ अनि भएन त कान्तिबजार क्षेत्रका लागि कृषिमा क्रान्ति। साँच्चैको कृषि क्रान्ति हेर्न त कोर मधेसको कान्तिबजार पुग्नु पर्छ। जहाँ अधिक महिलाहरू सहकारीमा आबद्ध छन्।

पशुपालन गरेर मज्जाको कृषि क्रान्ति गरिरहेका छन्। कृषि क्रान्तिमा रमाइरहेकी छिन् सरिताकुमारी सिंह। भैंसी पालेर उनले गोठालो यात्रा थालिन्। अहिले पाँचवटा भैंसीको बथान उनको गोठमा छ। दैनिक २५ लिटर दूध उत्पादन हुन्छ। बिक्री गरेरै सरिताले दुई सन्तानलाई गाउँ बाहिर पढाइरहेकी छिन्। उनले भनिन्, ‘गाउँको सहकारीले हाम्रो जीवन नै उज्यालो बनाइदियो। दूध बिक्रीदेखि सहुलियत दरमा पशुपालन ऋण दिन्छ। सहकारीमा बचत गर्दा राम्रै ब्याज पनि दिन्छ।’ पशुपालनले किसानहरूको मुहार उज्यालिएकोे उनी सुनाउँछिन्, ‘अनि भएन त काइदा।’
आपत्विपत्को सारथि ‘सहकारी’
पशुपालक किसानलाई सहकारीले बिना झन्झट ऋण प्रवाह गर्छ। पशुपालक किसान बुधनी देवीले सहकारीबाटै कर्जा लिइन् दुई—दुई वटा दुहुना भैंसी किनेकी छिन्। दैनिक ८ लिटर दूध उत्पादन हुन्छ। दूध बेचेर दैनिक ५ सय रुपैयाँ आम्दानी हुन्छ। ‘परिवार चलाउन अब अरूको भर पर्नु परेको छैन’, उनले भनिन्। सहकारी गरिब तथा विपन्न नागरिकको बैंक हो। जहाँ सजिलै सबैले सबैलाई विश्वास गर्छन्। मर्दा—पर्दा जो कोहीले सहयोग पाउँछन्। सामाजिक एकतालाई बढावा दिन्छ। सहकारीबाट खर्च लिएर उनल छोरीलाई अन्माइन्। गत असारमा कहीँ कतैबाट उपाय लागेन। तर, छोरीको विवाह तय भइसकेको थियो। सहकारीले ऋण दियो। देवकलाका भिज्दै गरेको वर्षात्मा ओत लाग्ने छाता नै भेटिएजस्तो भयो। वार्षिक १४.५ प्रतिशत ब्याजदरमा उनले सरकारीबाट ८ लाख ५० हजार पाइन्। उनले छोरीको विवाह भव्य प्रबन्धसहित गरिन्। ‘साहु, महाजनको चक्करमा झन्डै मिटरब्याजको पासोमा पर्न लागेको थिएँ। परेको भए परिवारकै उठीबास हुन्थ्यो’, उनी भन्छिन्, ‘गाउँको सहकारीले ऋण पत्यायो। गर्जो टर्र्यो। कमाएर तिर्दैछु। सहकारी जीवनको असल सहयोगी भयो।’

सहकारीमा ९७ प्रतिशत सेयर सदस्यको महिला नै छन्। २०५३ सालमा सुरुमा ३५ जनाले २५ हजार रुपैयाँका दरले सेयरपुँजी जम्मा गरी सहकारीको यात्रा सुरु भयो। अहिले दर्जनौं गाउँमा २ सय ६६ वटा समूहमा १ हजार ५ सय ७७ जना सदस्यहरू छन्। ती सबै महिला छन्। त्यसमा बुहारीको संख्या धेरै। चुलोचौकामा सीमित गृहणीहरू सहकारीमा आबद्ध भए। घुम्टोबाट बाहिर आए। बोल्न सक्ने भए। समूहमा बस्छन्। गाउँमा भइरहेका गतिविधिमा सहभागिता जनाउँछन्।
अनि यसरी जन्मियो सहकारी
पूर्व—पश्चिम राजमार्गस्थित लक्ष्मिनियाँ जंगलबाट ८ किलोमिटर दक्षिण पुगेपछि कान्तिबजार पुगिन्छ। त्यहाँ पुग्दासम्म जंगलै जंगलको बाटो छिचोल्नु पर्छ। जहाँ एकाबिहानै होस् वा सम्साँझै गोठाला—किसानहरूको भीड लाग्छ, दूध बिक्री गर्न। महोत्तरी र सर्लाहीको सीमा छुट्ट्याउँछ बाँके खोलाले। त्यसैको पूर्वमा पर्छ, कान्तिबजार। उत्तरतिर घनघोर सागरनाथ वन विकास परियोजनाको जंगल। त्यसको काँखमा छ क्रान्तिकारी गाउँ कान्तिबजार। जहाँ सहकारीको कार्यालय अवस्थित छ।
यसैको नीति, निर्देशन र व्यवस्थापनमा जहाँका पशुपालक कृषकहरू दूध उत्पादनमा छलाङ मारिरहेका छन्। कुरा २०५३ सालको हो। किसानहरूले एउटा सानो समूह गठन गरे। वित्तीय कारोबार गर्न। त्यसको माहौल बनाएका थिए, सहकारी अभियन्ता रामचन्द्रसिंह कुशवाहाले। हालै उनको क्यान्सर लागेर देहवसान भयो। उनको सक्रियतामा गठन भएको सहकारीले गाउँमा कृषि क्रान्ति गरिरहेको छ। जब माओवादीको सशस्त्र विद्रोह रन्कियो। संस्थाले गति लिन सकेन। समयले साथ दिएन। दुई दशकसम्म झोलामै सीमित सहकारी २०७३ सालमा कुशवाहाकै नेतृत्वमा संस्थाले पुनर्जीवन पायो।
बढ्यो आम्दानी, फेरियो गाउँको मुहार
सहकारीले गाउँको मुहार नै फेरिदियो। घरघरमा आम्दानी बढ्यो, अभाव हट्दै गयो। महोत्तरी सदरमुकाम जलेश्वरभन्दा उत्तर पश्चिममा पर्छ कान्तिबजार। कान्तिबजारसँगै एघार नम्बर, परोडिया, लक्ष्मीनियाँ, कालीपुर, भरतपुर, रजखोर, गौशाला, रामनगर, बेलगाछीलगायतका दर्जनौं गाउँ—बस्तीका किसानले पशुपालनमार्फत आर्थिक क्रान्ति गरिररहेका छन्। अत्याधुनिक प्रविधिसहित सुधारिएको गोठ निर्माण गरी गाईभैंसी पालिरहेका हुन्। गएको पाँच वर्षमा किसानले ६ करोड १५ लाख ५१ हजार ६ सय ८६ रुपैयाँबराबरको ७ लाख ९६ हजार ५ सय ५७ लिटर दूध उत्पादन गरे।
सहकारीले किसानबाट यो परिणामको दूध खरिद गरेर दूध, दही, घिउ, पनिरलगायतका दुग्धजन्य परिकार बनाई बिक्री गर्दै १ करोड ४८ लाख ९ हजार ३ सय ९२ आम्दानी गरे। खर्च कटाएर सहकारीले कुल ३५ लाख २ हजार ४ सय ४१ रुपैयाँ नाफा कमाएको व्यवस्थापक रामदयाल महतो बताउँछन्। सहकारीले गाउँमा दूध उत्पादनमार्फत समृद्धि हासिल गर्दै गएको छ। बस्तीका घरहरूको खर र टायलका छानोले पक्की आकार पाएको छ। बालबच्चाहरूको नाना, पोषिलो खानामा सकारात्मक प्रभाव पारेको छ। आधुनिक पढाइमा पहुँच पुर्याएको छ। सहरका अस्पतालमा बिरामी पर्दा उपचार गराउने सामथ्र्य बढाएको छ। यो सँगै सहकारीले ग्रामीण भेगमा छरिएर रहेको पुँजी संकलनमा मद्दत पुर्याएको छ।

पहिले यहाँ थोरबहुत परिणाममा उत्पादित दूध बिक्रीका लागि ६ किलोमिटर टाढा गौशाला जानुपर्ने बाध्यता थियो। त्यो पनि उधारोमा दूध बिक्री गर्नुपर्ने हुन्थ्यो। ‘हाम्रो सहकारीले व्यवस्थित रूपमा डेरी स्थापना गरेपछि किसानहरूलाई सजिलो भयो। सदाबहार रूपमा किसानले उत्पादन गरेको दूध हामीले किनिदिन्छौं’, व्यवस्थापक महतो भन्छन्, ‘१५ दिनमा एकमुष्ठ भुक्तानी दिन्छौं। जसले गर्दा डेरीमा बिहान—बेलुका दूध बिक्री गर्न आउने किसानको लर्को लाग्छ।’ सहकारीले दैनिक करिब ६ सय लिटरसम्म दूध खरिद गर्दै आएको उनी बताउँछन्।
करोडौ पुँजी संकलन
किसानहरूको जीवन फेर्ने साना किसान सहकारी संस्थाले कारोबारमा फड्को मारेको छ। हाल संस्थाको कुल सेयर पुँजी १ करोड ८० लाख ९९ हजार ६ सय पुगेको छ। सहकारीमा कुल ५ करोड ९४ लाख ६६ हजार २ सय १९ रुपैयाँ बचत छ। अहिलेसम्म संस्थाले ती समूहमा आबद्ध भएका सेयरधनीलाई ८ करोड ७४ लाख २३ हजार ९ सय २९ रुपैयाँ ऋण लगानी गरिएको छ। त्यस्तै, संस्थाले हालसम्म ११ लाख १६ हजार ४ सय ७३ रुपैयाँ नाफा कमाउन सफल भयो। वर्षभरि किसानहरू कृषिकर्म गरेर यतिका रकम सहकारी जुटाएका हुन्।
सहकारीका अध्यक्ष हरिहर महतोका अनुसार सेयर सदस्यलाई पूर्णरूपमा उत्पादनसँग जोड्ने प्रयास भइरहेछ। कृषि र पशु्पालनलाई अझै व्यवस्थित बनाउने रणनीति छ। भन्छन्, ‘यस भेगमा दक्ष पशु चिकित्सक छैन। रोगले अकालमै मर्छन्।’ सरुवा रोग लागेर दुधालु वस्तुभाउ मर्दा निराश
बनाउने गरेको अध्यक्ष महतोले पीडा पोख्छन्।
महिला सशक्तीकरणको आधारशिला सहकारी
बिनिताकुमारी महतो, उपाध्यक्ष, साना किसान कृषि सहकारी संस्था, कान्तिबजार
ग्रामीण भेगमा महिला भएर कसरी नेतृत्व गर्दै हुनुहुन्छ ?
सहकारीले मलाई यो नेतृत्व गर्ने तहमा पुर्याएको छ। सबैभन्दा पहिला संस्थालाई धन्यवाद दिन चाहन्छु। मलाई योग्य ठानेर उपाध्यक्षको जिम्मेवारी सहकारीका सदस्यहरूले दिनुभयो। सयौं महिला दिदीबहिनीहरूको भविष्य उज्यालो बनाउन काम गरिरहेको छु। यहाँका अधिकांश महिलालाई आर्थिक क्रान्तिमार्फत आत्मनिर्भर बनाउन र समाजमा चिनाउन प्रयत्न गर्दैछु।

भान्छादेखि सहकारीको उपाध्यक्षको भूमिका कति चुनौतीपूर्ण छ ?
अवसर छ, सँगै चुनौती धेरै छन्। मधेसी समुदायमा महिलाहरू घरबाट बाहिर गएर काम गर्नुलाई त्यति सहजै पचाउँदैनन्। सुरुमा वास्ता गर्दैन। काम गर्ने भूमिकालाई पत्याउँदैन। धेरै दुःखपछि मात्रै बल्लबल्ल सामाजिक संस्थाहरूमा पत्याउने वातावरण बन्छ। सुरुसुरुमा यहाँ कुनै पनि महिलाले साइकल चलाउँदैनथे। मलाई घरपरिवारले साइकल हाँक्न अनुमति दियो। यसले मलाई काममा आवतजावत गर्न निकै सजिलो बनायो। अहिले म अरूका लागि काम गर्दैछु। अहिले हाम्रो परिवारको आर्थिक अवस्था पनि राम्रो भएको छ। परिवारमा खुसीयाली छ।
महिलालाई सहकारी सञ्चालन गर्न कत्तिको सहज छ ?
हातकै औंला सबै बराबर छैनन्। यस संस्थामा अलगअलग गाउँ, परिवारका सदस्यहरू आबद्ध हुनुहुन्छ। त्यसमा पनि आर्थिक पारदर्शी, वित्तीय अनुशासन कायम गरेर संस्था चलाउनु अहिलेको अवस्थामा कठिन काम हो। जिम्मेवारी पाएदेखि सहकारी राम्रै प्रगति गर्दैछ। यसअघि सहकारीका नेतृत्वले गरेको कामको प्रभाव पनि छ, सहकारीमा सबैलाई एकताबद्ध गराउन सफल भएकी छु।




