जनकपुरधाम- आज मंगलवार देखि सुरु हुँदै गरेको नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनले अहिले जनकपुरधामको माहोल पुस महिनाको जाडोमा पनि तातिएको छ ।
आफ्ना आफ्ना पक्षका उम्मेदवारलाई जिताउनको लागि काठमाण्डौंबाट कतिपय नेताहरु जनकपुरधाम आइपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बुझिएको छ ।



शेखर कोइरालाले निवर्तमान केन्द्रीय सदस्य गुरुराज घिमिरेको संयोजकत्वमा युवा नेता भूपेन्द्रजंग शाही, रामकृष्ण यादव र तेजुलाल चौधरीलाई प्रदेश २ निर्वाचनका लागि जनकपुरधाममा खटाएका छन् ।
सभापति शेरबहादुर देउवा पक्षधर उम्मेदवार रौतहटका कृष्णा यादवलाई सघाउन कांग्रेसका केन्द्रीय सदस्यमा निर्वाचित गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा उदयशमशेर राणा र रामहरि खतिवडा सहितको टोली अबेर राती जनकपुरधाम आइपुगेका छन् भने प्रदेश-२ बाट केन्द्रीय सदस्य निर्वाचित रमेश रिजाल र आनन्दप्रसाद ढुंगानाले स्थानीयस्तरमा समूहको चुनावी रणनीति बनाइरहेका छन् ।
विमलेन्द्र निधि पनि सोमवार नै जनकपुरधाम आइपुगेका छन् । नेता निधिले प्रदेश सभापतिमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवका लागि शेखर कोइराला समूह संग मिलेर जाने प्रयास गर्दै छन् ।
निधिमात्र होइन, कोइराला समूहले पनि प्रदेश २ को अधिवेशनलाई प्रतिष्ठाको विषय बनाएको छ । उक्त समूहबाट निर्वाचित उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापा पनि आज जनकपुरधाम आउँदै छन् । उहाँहरु सोमवार अन्तिम फलाईटले आउने कुरा थियो तर हिजो आउन नसकेपनि आज आउने भएका छन् ।
सोमवार साँझ निधि र यादव सित कोइराला समूहका नेताहरु रामकृष्ण यादव र गुरु घिमिरेले मन्त्री निवासमा छलफल गरेका थिए । ‘सहमतिका लागि संवाद भइरहेको छ’ कोइराला पक्षबाट वार्तामा रहेका यादवले भने, तर हाल सम्म सहमति हुन सकेको छैन् ।
पदाधिकारी र सदस्यहरुमा बहुमत दिनुपर्ने माग आफूहरुले छलफलमा राखेको जनाउँदै यादवले भने, उहाँहरु आपसी छलफलमा जुट्नु भएकाले जवाफ प्राप्त नभएको बताए । ‘सभापतिमा रामसरोज यादवलाई सघाउन हामी तयार छौ’ उनले भने, तर अन्य पदहरुमा हाम्रो पक्षको बहुमत हुनुपर्छ । प्रदेश सभापतिका लागि दुई जना उम्मेदवार मात्र रहे पनि समूह तीन रहेका छन् । कोइरालाको समूहले सभापतिमा दाबी नगरी अन्य पदहरुमा बहुमत खोजेको छ । सभापतिका लागि संस्थापन इतरका उम्मेदवार प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई प्राथमिकतामा राखेको छ ।
स्रोतहरुका अनुसार कोइराला समूहले उपसभापति-१, महामन्त्री-१ र सहमहामन्त्री-२ मागेका छन् । तर छलफलमा रहेका नेता निधिले महामन्त्री-१ र सहमहामन्त्री-१ मात्र दिने अडान लिएका छन् । सभापति, दुबै उपसभापति र दुई जना सहमन्त्री लिने अडान निधिले नछाडेको कारण सहमतिमा ढिलाई भएको स्रोतले जनाए । सहमतिमा नेता निधि नै तगारो बनेको आरोप लगाउँदै सो समूहका एकजना नेताले भने, भित्रि रुपमा उनी कोइराला समूहलाई रोक्न खोजेका छन् ।
कोइराला समूहले संस्थापन पक्षका उम्मेदवार कृष्णा यादवलाई सघाउन इच्छुक नरहेकाले नेता निधि कमजोर मुल्यांकन गरी सीमित पद दिन चाहेको आरोप लागेको छ ।
प्रदेश २ मा अत्यधिक बलियो रहेका संस्थापन पक्षका उम्मेदवारलाई पराजित गर्न कोइराला समूहको समर्थन अनिवार्य भएको बताइन्छ । तर केन्द्रीय चुनावमा देउवालाई दोस्रो चरणमा सघाएका निधिलाई प्रदेश चुनावमा उनको उम्मेदवार विरुद्ध लाग्न सकस भएको छ ।
देउवा पक्षका घोषित उम्मेदवार कृष्णा यादवले आफ्नो उम्मेदवारी कायम रहेको बताउँदै गृहमन्त्री लगायतका केन्द्रीय नेताहरुको टोली चुनावमा सघाउन जनकपुरधाम आइपुगेको बताए । ‘प्रदेशमा बहुमत प्रतिनिधिहरु संस्थापन पक्षमा रहेकाले चुनाव जित्नेमा म ढुक्क छु’ उनले भने, निधि लगायतका नेताहरुको समर्थन समेत आफूलाई नै हुने छ ।
कोइराला समूह सित सहमतिमा भइरहेको ढिलाईलाई मन्त्री रामसरोज यादव निकटका नेताहरुको छटपटी बढाएको छ । समयमै सहमतिको सन्देश प्रतिनिधिहरुमा जान सके त्यसको सकारात्मक असर हुने उनीहरुको विश्वास छ । तर नेता निधिले भने अडान छाडेका छैनन् । मन्त्री यादवले आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार गरिरहेका छन् ।
उनले स्वतन्त्र उम्मेदवारकै रुपमा उम्मेदवारी घोषणा गरेका कारण सबै समूहको मत सहज रुपमा आउने विश्वास गरेका छन् । संस्थापन पक्षको विरुद्ध उनलाई जित्ने उम्मेदवारको रुपमा कोइराला समूहले पनि पत्याएका छन् ।
निर्वाचन समितिले स्थानीय गोपाल धर्मशालामा दिउँसो २ बजे मनोनयन पत्र दाखिलाका लागि समय निर्धारण गरेको छ । त्यस अघि प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुले नाम दर्ता गराउन विहान ८ बजेदेखि समय निर्धारण गरिएको छ ।
कांग्रेस धनुषाका सचिव विशेश्वर यादवले जारी गरेको सुचना अनुसार प्रतिनिधिहरुले नाम दर्ता गराउन २ हजार नगदको रसीद कटाउनु पर्ने छ । प्रतिनिधिहरुलाई भोजनको व्यवस्था गरिए पनि वासको व्यवस्था स्वयं गर्नुपर्ने नेका धनुषाका उपसभापति सन्तोष यादवले बताए ।
३२ क्षेत्र रहेको प्रदेश २ को निर्वाचनमा करिब २ हजार ७५ मतदाता छन् । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता हुन्छन् । मतदानका लागि बुधवार विहानदेखि समय निर्धारण गरिएको छ ।
सोमबारसम्म ३० क्षेत्रमा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनोट भएका छन् । निर्वाचित क्षेत्रीय सभापतिमध्ये देउवा समूहका २१, कोइराला समूहका ७ र निधि समूहका २ जना छन् । महाधिवेशनमा समेत प्रदेश २ का तीनवटै केन्द्रीय सदस्यमा देउवापक्षीय उम्मेदवार निर्वाचित (दुई जना निर्विरोध) भएका छन् । १३ औं महाधिवेशनबाट निर्वाचित जिल्ला सभापतिमध्ये देउवा समूहका ६ र निधि समूहका २ जना छन् ।
महाधिवेशन अघिसम्म तटस्थ रहेका सप्तरीका जिल्ला सभापति दिनेश यादव आफ्नो प्यानलबाट केन्द्रीय सदस्य उम्मेदवार बनेपछि देउवा समूह थप उत्साही छ ।
प्रदेश २ का आठवटै जिल्लामा अधिवेशन भएको छैन । केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशन नभए पनि महाधिवेशनअघि प्रदेश अधिवेशन गर्ने तयारी गरेको थियो तर केन्द्रीय सभापतिमा उम्मेदवारी दिएका निधिको आग्रहमा निर्वाचन रोकिएको थियो । ‘आफ्नै प्रदेशमा आफूले समर्थन गरेको उम्मेदवार पराजित भएमा त्यसको असर उम्मेदवारीमा पर्ने भएपछि निधिको आग्रहमा प्रदेशको निर्वाचन रोकियो,’ एक कांग्रेस नेताले भने, ‘अहिले उहाँ जसरी, जोसँग मिलेर भए पनि प्रदेशमा आफ्नो नेतृत्व स्थापित गर्ने कसरतमा हुनुहुन्छ ।’
मंसिर १७ मा प्रदेश अधिवेशन उद्घाटन भए पनि केही जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि छनोटमा ढिलाइ भएको भन्दै प्रदेश निर्वाचन स्थगित भएको थियो ।




