काठमाडौं । ३० वैशाखमा स्थानीय तहको निर्वाचन रोक्न परेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरिदिएका हुन्।
स्थानीय तहको निर्वाचन रोक्न महोत्तरी भंगाहा नगरपालिकाका मेयर सन्जिव साहले सर्वाेच्चमा रिट दायर गरेका थिए । नेपालको संविधानको धारा २१६ को उपधारा(६) स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा(४) तथा दफा ५५ समेतका प्रावधानको व्याख्या सम्बन्धी प्रश्न उठाइ विषयसँग प्रत्यक्ष सरोकार रहेका भंगाहा नगरपालिकाका प्रमुख साहले निवेदन दर्ता गरेका थिए।



शाहको रिटलाई सर्वाेच्च अदालतले २६ माघमा दरपीठ गरिदिएको थियो। उक्त दरपीठलाई सर्वाेच्च अदालतले ४ फागुनमा बदर गरिदिएको थियो।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले संविधान र कानूनको व्याख्या सम्बन्धी यस प्रकारको विषयलाई न्यायिक प्रक्रियामा प्रवेश नै नपाउने गरी प्रशासनिक तहबाट नै निवेदन दरपीठ गरी टुंग्याउनु उचित नदेखिने भएकाले अदालतका रजिष्ट्रारको २६ माघको आदेश बदर गरिदिएको थियो।




