जनकपुरधाम- उच्च अदालत जनकपुरले पुनः मत गणनाका लागि दिइएको आदेश सर्वोच्च अदालतले उल्टाइ दिएको छ ।
सर्लाही हरिवन नगरपालिका-७ को स्थानीय निर्वाचन नतिजा रद्द गरी पुनः मतगणना गर्न दिएको उच्च अदालतको आदेश उल्टिएको छ ।
वडाध्यक्ष पदमा यसअघि सार्वजनिक भएको परिणाम रद्द गरी पुनः मतगणनाका लागि टीका जंङ्ग थापाले रिट दायर गरेका थिए। एक मतले पराजित नेपाली काँग्रेसका थापाको रिटमाथि सुनुवाइ गर्दै अदालतले गत पुस तेस्रो साता पुनः गणना गर्ने आदेश दिएको थियो ।



माघ २० गते (आज) गणना गर्ने उच्च अदालत जनकपुरको तयारी थियो । तर सर्वोच्चले उक्त आदेश उल्टाएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए । उनका अनुसार उच्च अदालतको आदेशबाट असंतुष्ट भएपछि एक मतले निर्वाचित घोषणा भएको नेकपा एमालेका निरध्वज कार्कीले सर्वोच्च अदालतमा मुद्दा दिएका थिए । सोही मुद्दामा सर्वोच्चले तत्काल गणना नगरी मिसिल पठाउन माघ १६ गते उच्च अदालत जनकपुरलाई पत्राचार गरेको छ । अब सर्वोच्चले दिएको आदेश वा फैसला मात्रै कार्यान्वयन हुने भएको छ । यस वडामा निरध्वज कार्की एक मतले निर्वाचित भइ कार्यरत छन् ।
निर्वाचन अधिकृतको कार्यालयको गणना अनुसार कार्की ३ सय ७९ मतसहित विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टीकाजंग थापाले ३ सय ७८ मत पाएका थिए ।
उच्च अदालत जनकपुरमा स्थानीय निर्वाचनसँग सम्बन्धित ३१ वटा रिट दर्ता छन् । पुनः मत गणनाको लागि २६ र निर्वाचन बदर गर्नुपर्ने मागसहित ६ वटा रिट दर्ता भएको छ । सबै मुद्दाहरु प्रक्रियामा रहेको छ ।




