महोत्तरी – व्यवसायिक तथा सिप विकास तालिम केन्द्र जनकपुरले जलेश्वर नगरपालिकामा शुक्रबारदेखि तिन महिने व्युटीपार्लर तालिमको शुरुवात गरेको छ । बेरोजगार भएर बसेका तथा भविष्यमा सीप पाएपछि आत्मनिर्भर बन्न व्यवसाय सञ्चालन गर्न सक्ने २७ जना महिलाहरुलाई सहभागी गराएर व्युटीपार्लर तालिम शुरुवात गरिएको व्यवसायिक तथा सिप विकास तालिम केन्द्र जनकपुरका सुचना अधिकारी विश्वनाथ प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
उहाँले जिल्लाको पिपरा गाउँपालिका तथा जलेश्वर, मटिहानी, औरही र गौशाला नगरपालिकामा रहेका बेरोजगार युवा, युवतीहरुलाई समेटेर विभिन्न तालिमहरु आयोजना गरिएको बताउनुभयो । पिपरामा सिलाईकटाई, जलेश्वरमा व्युटीपार्लर, मटिहानीमा प्लम्बर, औरहीमा हाउस वायरिंग तथा गौशाला नगरपालिकामा मन्टेश्वरी सम्बन्धी तालिम सञ्चालन गरिने वताउनुभयो । उहाँले तालिमका रहेका सहभागीहरुलाई अन्तरवार्ताको माध्यमबाट छनौट गरिएको बताउनुहुदै आवश्यकता भएकाहरुलाई मात्रै तालिममा समावेश गरिएको वताउनुभयो । नि:शुल्क रुपमा रहेको यो तालिम पाएपछि आयआर्जनको लागि समेत केन्द्रले पहल गर्ने आश्वासन दिनुभयो ।




जलेश्वर नगरपालिकाको वडानं. २ को कार्यालयको सभाहलमा शुक्रबारदेखि शुरुवात भएको तालिमको उदघाटन वडा नं. २ का वडाध्यक्ष बरुणकुमार दाहालले गर्नुभयो । उहाँले मधेश प्रदेश सरकारको व्यवसायिक तथा सिप विकास तालिम केन्द्रले जलेश्वरका बेरोजगार युवतीहरुको लागि ब्युटीपार्लर तालिम आयोजना गरेकोमा धन्यवाद दिनुहुदै सिप भएपछि कहिल्यै पनि भोको नहुने धारणा राख्नुभयो । उहाँले महिलाहरुलाई झन अहिलेको जमानामा सिपको अनिवार्यता रहेकोमा जोड दिनुहुदै सबैलाई ध्यानपूर्वक तालिममा सहभागी हुन तथा भविष्यमा स्वरोजगार भएर लाग्न अनुरोध गर्नुभयो । कतिपय युवायुवतीहरु सीप पाएर पनि आर्थिक अभावमा स्वरोजगार बन्न नसकेको वताउनुहुदै उहाँले आफुले सीप पाएका युवायुवतीहरुलाई सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
वडाबाट भयो भने वडाबाट नभएर नगरपालिकाबाट पनि सहयोग गर्न/गराउन आफु सदैव तत्पर रहने उहाँको कथन थियो । कार्यक्रममा प्रशिक्षक आशा कुमारी यादवले विभिन्न पुजापाठ, विवाह, व्रतबन्धहरुमा महिलाहरु व्युटीपार्लर आउने गरेकोले यो व्यवसाय सहज र सरल रुपमा कम लागतबाट सञ्चालन गर्न सकिने वताउनुहुदै सहभागीहरुलाई ध्यानपूर्वक तालिममा सहभागी हुन आग्रह गर्नुभयो ।
व्युटीपार्लरको तालिम लिएपछि घरबाट पनि शुरुवात गर्न सकिने र यसको माँग समाजमा ज्यादै रहेकोले नाम र दाम दुवै पाउन सकिने भएकोले बेरोजगार महिलाहरुको लागि यो तालिम रामवाण रहेको बताउनुभयो ।




