सप्तरी - सप्तरी जिल्लाको कोशी व्यारेजमा होटेल सञ्चालन गर्ने एकजना व्यवसायी गाँजा कारोबारी भएको अभियोगमा पक्राउ परेपछि घटनामा नयाँ मोड आएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले असार ३ गते हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १ का बुधन भनिने जोगानन्द मण्डललाई प्रहरीले लागूऔषध गाँजाको अवैध कारोबारको अभियोगमा सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको सूचना सार्वजनिक गरेको थियो । सो सूचनामा मण्डललाई असार १ गते नै पक्राउ गरिएको थियो ।
२०७९ पुस १४ गते कोशी नदीको पूर्वी टापुको भँगालोमा लुकाई राखेको २० बोरा अवैध गाँजा प्रहरीले बरामद गरेको थियो । सो क्रममा प्रहरीले जोगानन्द मण्डललाई अभियुक्त बनाए पनि उनी पक्राउ परेका थिएनन् । तर असार १ गते पक्राउ गरिएको जोगानन्द मण्डलले प्रहरीसित १० लाख रुपैयाँमा सो मुद्दाको ‘सेटिंग’ गरेको बताइएको छ । सहमति भएको १० लाख मध्ये दुई पटक गरी प्रहरीले ४ लाख रुपैयाँ लिइसकेको बताइएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर १ को भारदहमा रहेको ईलाका प्रहरी कार्यालयमा कार्यरत सई विश्वनाथ त्रिपाठीले दुई पटक गरी ४ लाख रुपैयाँ लगेको मण्डलको पारिवारिक सदस्यहरुले जनाएका छन् । उनीहरुले सार्वजनिक गरेको भिडियोमा सई त्रिपाठीले हातमा केही लिएको देखिन्छ । हातमा मोटो गड्डी जस्तो वस्तु देखिएकोले त्यो रुपैयाँको बण्डल रहेको दाबी गरिएको छ । सई त्रिपाठीले मण्डलका भाईसित रुपैयाँ लिएको भिडियो उनकै होटेलको सीसीटीभी क्यामरामा कैद रहेको फुटेज हो । वर्दीमा नै रहेका सई त्रिपाठीले एक हातले मोबाइल समातेर कुरा गरिरहेका छन् भने अर्को हातले रुपैयाँ लिइरहेको सीसीटीभी फुटेजमा देखिन्छ । सई त्रिपाठी हाल पनि इलाका प्रहरी कार्यालय भारदहमा नै कार्यरत छन् ।
सामाजिक सञ्जालमा सो भिडियो र फोटो निकै भाइरल भएको छ । यो केही महिना पूर्व अर्थात जाडोको महिनामा भएको लेनदेनको फुटेज जस्तो देखिन्छ । सई त्रिपाठी र रकम बुझाउने मण्डलले ज्याकेट लगाएको देखिन्छ । जोगानन्द मण्डललाई पक्राउ गरी म्याद थप गरिएको विज्ञप्ति प्रहरीका सूचना अधिकारी डीएसपी जितेन्द्र कुमार बस्नेतले मण्डल पक्राउ परेको र म्याद थप गरी उनको विषयमा थप अनुसन्धान भइरहेको जनाएका छन् । त्यो सूचना सार्वजनिक भएपछि मण्डल परिवार तातेको देखिन्छ । उनीहरुले प्रहरीसित भएको लेनदेन र सीसीटीभीको भिडियोसमेत सार्वजनिक गरेका छन् ।
जोगानन्द मण्डलका पिता भागवत मण्डलले प्रहरीले पटक पटक गरी रकम लिइसके पनि दुःख दिइरहेको जनाएका छन् । ‘प्रहरीका घुमुवाहरु होटेलमा आएर खाने र बिल नतिरी जाने गरेका छन्’ मण्डलले भने, त्यो सबको कुनै लेखाजोखा नै छैन् । तर रुपैयाँ लिएर पनि पक्राउ गरेकोमा भागवत मण्डल बहुत दुःखी देखिएका छन् ।
पक्राउ गरिएको जोगानन्द मण्डल नियमित प्रहरीको सम्पर्कमा नै रहेको उनका भाईले दाबी गरेका छन् । दाईलाई पक्राउ नगर्नका लागि पटक–पटक रकम तिरेको पनि जोगानन्दका भाईले खुलाएका छन् । होटेल व्यवसाय गरी ६ जनाको परिवारलाई पालिरहेका भागवत मण्डलले पटक पटक रुपैयाँ लिएर प्रहरीले लामो समयसम्म दुःख दिइरहेको दुखेसो पोखेका छन् । उनले होटेलमा खाएर रकम नदिने प्रहरीको बानी नै परेको सुनाउने गरेका छन् ।
यस सम्बन्धमा सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवाडाले अनुसन्धान भइरहेको जनाएका छन् । ‘सामाजिक सञ्जालमा फैलिएको भिडियोको सबै प्रकारले परीक्षण गरी अनुसन्धान भइरहेको छ ।’ उनले भने, भिडियोमा देखिएको फोटो जाडो महिनाको भएको देखिन्छ । मण्डल परिवारका अनुसार सई विश्वनाथ त्रिपाठीले एसपीसित सबै कुरा १० लाखमा मिलाएको दाबी गरेका छन् । उनले नै एसपी साहेबलाई रुपैयाँ दिन पटक पटक आएर लगेको मण्डल परिवारको कथन छ । भिडिओ सार्वजनिक सञ्जालमा भाइरल भएपछि प्रहरीलाई घटनाको छानबिन गर्न दबाब बढेको छ ।




