महोत्तरी – महोत्तरीको औरही नगरपालिका–२ स्थित ऐतिहासिक धार्मिक स्थल रामजानकी कुटी (गाउँकै सबैभन्दा पुरानो कुटी) मा खण्डित भगवान रामको मूर्ति स्थानान्तरण गरी नयाँ मूर्ति स्थापना गर्ने तयारी स्थानीय युवाहरू जुटेका छन्। स्थानीय बासिन्दाका अनुसार, दुई वर्षअघि मूर्ति खण्डित भएपछि रामजानकी कुटीको मन्दिर मूर्तिविहीन बनेको थियो।
सो अवधिमा कुनै समाजसेवी, राजनीतिकर्मी वा जनप्रतिनिधिले ध्यान नदिँदा मन्दिरको अवस्था यथावत रहँदै आएको थियो। तर हाल धर्वेन्द्र कुमार यादव “यदुवंशी”को सामाजिक सञ्जाल मार्फत गरिएको निरन्तर आग्रहपछि अशोक कुमार मण्डल, नागेन्द्र यादव र नविन यादव लगायत स्थानीय युवाहरू सक्रिय बनेका छन्।उनीहरूले चन्दा संकलन अभियान सुरु गरी हालसम्म पर्याप्त रकम संकलन गरिसकेका छन्। संकलनमा मधेश प्रदेशका विभिन्न जिल्लाका युवाहरूको सहयोगसमेत जोडिएको छ।




यसबीच केही व्यक्तिहरूले निजी पहलमा मनपरी गरेर मूर्ति खरिद गरी स्थापना गर्न खोजेको खबर सार्वजनिक भएपछि युवाहरू आक्रोशित बनेका छन्। उनीहरूले मन्दिर सार्वजनिक सम्पत्ति भएकाले निजी पहलमा हस्तक्षेप नगर्न स्पष्ट चेतावनी दिएका छन्। मंगलबार वडा कार्यालयमा आयोजित संयुक्त बैठकमा सामाजिक अगुवा नरेन्द्र यादव र दरेश यादवले युवाहरूको चन्दा संकलन अभियानको खुलेर प्रशंसा गर्दै भने, “चन्दा उठेको पैसाबाट नै मूर्ति आउँछ, ढुक्क बस्नुस्।

हामी जुन बेला पनि युवाहरूको साथ र सहयोगमा तयार छौँ।” उनीहरूको आश्वासनपछि युवाहरूमा थप उत्साह र खुशीको माहोल बनेको छ। बैठकले सार्वजनिक रूपमा चन्दा संकलनबाट उठेको रकम पारदर्शी प्रक्रियामार्फत नयाँ मूर्ति खरिद गरी स्थापना गर्ने निर्णय गरेको हो। सहभागीहरूले भगवान रामको मूर्ति भारतको उत्तरप्रदेशको बनारसबाट खरिद गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।बैठकमा सहभागी समाजसेवीहरूले रामजानकी कुटीलाई धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावको केन्द्रका रूपमा विकास गर्ने संकल्प व्यक्त गर्दै भने, “यो हाम्रो साझा आस्था र गाउँको प्रतिष्ठाको प्रतीक भएकाले सबैले सहयोग र समर्थन गर्नुपर्छ।”रामजानकी कुटी महोत्तरी जिल्लाको एक ऐतिहासिक धार्मिक स्थल हो।

गाउँकै सबैभन्दा पुरानो कुटी भएकाले यहाँ प्रत्येक वर्ष चैत नवमी,रामनवमी,कृष्ण जन्माष्टमी,तीज,विवाह पञ्चमी लगायतका हिन्दू पर्वमा ठूलो संख्यामा श्रद्धालुहरू आउने गर्दछन्।युवाहरूले भनेका छन्, “दुई वर्षदेखि मूर्ति नभएको अवस्थामा कसैले वास्ता गरेन।
अब युवाहरूले चन्दा उठाएर मूर्ति किन्न लागेको बेला कसैले एकलौटी निर्णय गरेर मूर्ति राख्न खोजे हामी मौन बस्दैनौं।”




