महोत्तरी – भारतको बिहार राज्यमा आगामी मङ्गलबार हुने दोस्रो चरणको विधानसभाको निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा नेपाल–भारत सीमानाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार निर्वाचन अवधिमा शान्ति सुरक्षा सुदृढ बनाउनका लागि आज (शनिबार) साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्म सीमानाका बन्द गरिने व्यवस्था गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले शुक्रबार सूचना जारी गर्दै नेपाल–भारत सीमानाका हुँदै हुने मानवीय आकस्मिक सेवा बाहेकका सम्पूर्ण आवागमन रोक्ने निर्णय गरेको जनाएको छ ।
सूचनामा भनिएको छ, “भारतको बिहार राज्यको विभिन्न विधानसभाको सिटमा यही कात्तिक २५ गते हुने निर्वाचनलाई लक्षित गरी शान्ति सुरक्षा सुदृढीकरणका लागि जिल्लाका सबै नाकामा उच्च सतर्कता अपनाई आवागमन पूर्ण रूपमा रोकिएको छ ।”
सीमाक्षेत्रमा असामाजिक तत्वको आवागमन रोक्न र सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि नेपाल र भारत दुवै देशका सुरक्षा निकायहरू सतर्क अवस्थामा रहेको प्रशासनले जनाएको छ ।





