जिल्ला प्रहरी कार्यालय महोत्तरीको आयोजनामा बर्दिवासमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । नागरिक–प्रहरी सम्बन्धलाई सुदृढ बनाउँदै सुरक्षा, सेवा प्रवाह र सुशासनका विषयमा प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको अध्यक्षता जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्री सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।



सार्वजनिक सुनुवाइका क्रममा नागरिकहरूले शान्ति सुरक्षा, लागुऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिकासँग सम्बन्धित अपराध, घरेलु हिंसा, सेवाग्राहीमैत्री प्रहरी सेवा, उजुरी दर्ता प्रक्रिया लगायतका विषयमा जिज्ञासा, गुनासा तथा सुझाव प्रस्तुत गरेका थिए । नागरिकका प्रश्नको सम्बन्धित निकायका प्रमुखहरूले स्पष्ट जवाफ दिँदै समाधानका उपायबारे जानकारी गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सार्वजनिक सुनुवाइ नागरिक र प्रशासनबीचको विश्वासको सेतु भएको उल्लेख गर्नुभयो । नागरिकका समस्या सुन्नु र समाधानका लागि पहल गर्नु प्रशासनको दायित्व भएको बताउँदै उहाँले सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रमुख अतिथि नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले वर्दिवास नगरपालिकाको क्षेत्रभित्र आफ्नो नाममा कुनै पनि क्रसर उद्योग रहेको प्रमाण प्रस्तुत गर्न खुला चुनौती दिनुभयो । पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सार्वजनिक फोरममा आफूलाई क्रसर उद्योगीसँग जोडेर आरोप लगाइएको भन्दै नगर प्रमुख क्षेत्रीले ती आरोप आधारहीन भएको बताउनुभयो । “यदि मेरो नाममा वर्दिवास नगरभित्र कुनै पनि क्रसर उद्योग दर्ता भएको प्रमाण देखाउन सकिन्छ भने म जुनसुकै कानुनी कारबाही भोग्न तयार छु,” उहाँले भन्नुभयो ।
नगर प्रमुख क्षेत्रीले निर्वाचनपछि २४ घण्टाभित्र अवैध क्रसर उद्योग बन्द गर्ने प्रतिबद्धता अनुसार नै काम गरिएको स्मरण गराउँदै अवैध क्रसरमाथि विगतमा जस्तै भविष्यमा पनि कारबाही जारी रहने स्पष्ट पार्नुभयो । यद्यपि, कानुन र मापदण्डभित्र रहेका क्रसर उद्योगलाई सञ्चालनमा रोक्ने अधिकार स्थानीय सरकारसँग नभएको उहाँको भनाइ थियो । विकास निर्माणका लागि क्रसर उद्योग आवश्यक भए पनि त्यसको सञ्चालन कानुन, वातावरणीय मापदण्ड र प्रक्रिया अनुसार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाले अवैध क्रसर उद्योग, ढुंगा–गिट्टी उत्खनन तथा वातावरण प्रदूषण गर्ने गतिविधिमाथि निगरानी बढाएको छ । यसै कारण केही स्वार्थ समूहले नियोजित रूपमा भ्रम फैलाउने प्रयास गरेको उहाँको आरोप छ । “राजनीति आरोप–प्रत्यारोपमा होइन, काम र नतिजामा हुनुपर्छ,” नगर प्रमुख क्षेत्रीले बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्भ शर्माले हालसम्म भएका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउँदै नागरिकका सुझावलाई कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, धेरै सहभागीले इलाका प्रहरी कार्यालय बर्दिवासका कार्यालय प्रमुख प्र.ना.उ. विकास बमको कार्यशैलीको प्रशंसा गरेका थिए ।
सार्वजनिक सुनुवाइले नागरिकलाई आफ्ना कुरा खुलस्त राख्ने अवसर मिलेको र यसले प्रशासनिक पारदर्शिता बढाएको सहभागीहरूको धारणा रहेको थियो । कार्यक्रम जिल्ला प्रहरी कार्यालय महोत्तरीको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय बर्दिवासको समन्वयमा सम्पन्न भएको हो । आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।





