बर्दिवास। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्नेको संख्या उल्लेख्य देखिएको छ।
प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार महोत्तरी–१, २, ३ र ४ निर्वाचन क्षेत्र गरी कुल १२९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।



निर्वाचन क्षेत्रगत विवरणअनुसार महोत्तरी–१ बाट पुरुष २१ र महिला ४ गरी २५ जना, महोत्तरी–२ बाट पुरुष ३२ र महिला ५ गरी ३७ जना, महोत्तरी–३ बाट पुरुष ४० र महिला २ गरी ४२ जना तथा महोत्तरी–४ बाट पुरुष २३ र महिला २ गरी २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यसरी उम्मेदवारी संख्याका हिसाबले महोत्तरी निर्वाचन क्षेत्र नं. ३ अग्रस्थानमा देखिएको छ, जहाँ ४२ जनाले मनोनयन दर्ता गराएका छन्। त्यसपछि क्षेत्र नं. २ मा ३७ जना, जबकि क्षेत्र नं. १ र ४ मा समान २५–२५ जना उम्मेदवार रहेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछिल्लो अद्यावधिक मतदाता सूचीअनुसार महोत्तरी जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदाता संख्या करिब समान रहेको छ। जिल्लाभर कुल ३ लाख ९७ हजार मतदाता रहेका छन्, जसमा २ लाख १५ हजार १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला मतदाता रहेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ।
मनोनयन दर्ताको क्रममा प्रमुख राजनीतिक दलहरूको उल्लेख्य सहभागिता देखिएको थियो। नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय मुक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी लगायत दलका उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका छन्।
यसका साथै विभिन्न सामाजिक अभियन्ता, पूर्व राजनीतिक कार्यकर्ता तथा स्थानीय व्यक्तिहरू पनि स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका छन्। स्वतन्त्र उम्मेदवारको संख्या बढेसँगै मत विभाजनको सम्भावना पनि बढ्ने देखिएको छ।
महोत्तरी जिल्ला मधेश प्रदेशको राजनीतिक रूपमा संवेदनशील र निर्णायक जिल्ला मानिन्छ। यहाँ जातीय, क्षेत्रीय तथा दलगत समीकरणले विगतदेखि नै चुनावी नतिजामा प्रभाव पार्दै आएको छ। यसपटक उम्मेदवारको संख्या अत्यधिक हुँदा दलभित्रको आन्तरिक प्रतिस्पर्धा र असन्तुष्ट समूहको प्रभाव पनि परिणाममा देखिन सक्ने अनुमान गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, महोत्तरीका अनुसार मनोनयन दर्ता पश्चात् उम्मेदवारी जाँच प्रक्रिया सुरु गरिनेछ। उजुरी परेमा आवश्यक छानबिन गरिनेछ भने उम्मेदवारी फिर्ता लिने म्याद सकिएपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिनेछ।
चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको उल्लेख्य संख्याले यसपटकको निर्वाचनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको छ।




