धनुषा
सरकारले अनियन्त्रित रूपमा भइरहेको कृषियोग्य जमिनको खण्डीकरण रोक्न ०७४ साउन २६ देखि कित्ताकाटमा रोक लगाउने निर्णय गरेको छ ।
तर खण्डीकरण रोक्नुअघि इतिहासकै सबैभन्दा बढी घरजग्गा किनबेच र कित्ताकाट भएको थियो ।आर्थिक वर्ष ०७३÷७४ मा देशभर १० लाख घरजग्गा किनबेच भए । ११ लाख ५० हजारभन्दा बढी जग्गा कित्ताकाट हुँदा करिब साढे सात लाख नयाँ जग्गाधनी थपिए ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार जग्गा खण्डीकरण रोकिएपछि आव ०७४÷७५ मा घरजग्गा किनबेच र कित्ताकाट स्वात्तै घट्यो । उक्त वर्ष जग्गाको कित्ताकाट ७ लाख २५ हजारमा झरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा चार लाख २५ हजार कम थियो ।



अघिल्लो वर्षको तुलनामा ०७४÷७५ मा १ लाख ६५ हजार कम अर्थात् ८ लाख ३५ हजार घरजग्गा किनबेच भएका थिए भने ५ लाख २८ हजार नयाँ जग्गाधनी थपिएका थिए ।
सरकारले जमिन खण्डीकरणको रोक लगाउने निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा जग्गा कित्ताकाट नरोकिएको सरोकारवाला बताउँछन् ।
टाठाबाठा घरजग्गा कारोबारीले मालपोत र नापी कार्यालयका कर्मचारीलाई घुस खुवाएरै जग्गा कित्ताकाटको स्वीकृति लिएको आरोप छ । जग्गा कारोबारीले कानुनका छुद्र प्रयोग गरेर कित्ताकाटको स्वीकृति लिइरहेका छन् ।
यस्तै छुद्र जुक्तिको प्रयोग गरेर धनुषामा जग्गाधनी तथा भू–माफियाले खेतीयोग्य जग्गालाई प्लटिङ्ग गरेर बिक्री गर्ने प्रयास गरेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ भिमान चौकदेखि पूर्वमा निर्मला गौतमको नाममा रहेको ४५ कठ्ठा खेतियोग्य जमिन भू–माफियाले प्लटिङ्ग गरेर बिक्री गर्ने प्रयास गरेपछि सरोकारबाला निकायले रोकथाम गर्न पहल थालेको बुझिएको छ ।
गौतमले सो ठाउँमा रहेको कित्ता नं. १७, १२५ र १२७ को जग्गा प्लटिङ्ग गररे बिक्री गर्न लागेको बुझिएको छ ।




