जनकपुर । जनकपुरधाममा छयालिसौँ अन्तरराष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ । राजर्षि जनक विश्वविद्यालयसँगको सहकार्य तथा नेपाल साहित्यिक सङ्घ (ल्यान) को आयोजनामा आजदेखि यहाँ ‘रामायणः अन्तरसांस्कृतिक आख्यान, नैतिक संवाद र जीवित परम्परा’ विषयमा केन्द्रित सम्मेलन सुरु भएको हो ।
सम्मेलनको उद्घाटन गर्दै राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा डा अमरप्रसाद यादवले रामायण धार्मिक ग्रन्थले मानव जीवनका नैतिक मूल्य, सामाजिक सद्भाव र सांस्कृतिक एकताको महत्त्वपूर्ण आधार कायम गरेकाले त्यसको सन्देश प्रवाह गर्न सम्मेलन उपलब्धिमूलक हुने बताए ।



उनले रामायणका विषयवस्तु, कथा र सन्देशहरू आजको आधुनिक समाजमा पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै यो सम्मेलनले ज्ञान आदान–प्रदान र अनुसन्धानलाई थप सशक्त बनाउने भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल साहित्यिक सङ्घका संरक्षक प्राडा श्रीधरप्रसाद लोहानी, प्राडा श्रीधर गौतम, डिन डा विनोद साह, प्राडा लक्ष्मण गनवाली, डा खुमप्रसाद शर्मा तथा राजर्षि जनक अध्ययन–अनुसन्धान केन्द्रका निर्देशक प्राडा राम खेलावन साहलगायतले रामायणको महत्त्वबारे आफ्ना धारणा व्यक्त गरेका थिए ।
उनीहरूले रामायणले विभिन्न संस्कृतिहरूलाई जोड्ने सेतुको काम गरेको उल्लेख गर्दै यसको अध्ययनमार्फत अन्तरसांस्कृतिक समझदारी, सहअस्तित्व र नैतिक मूल्यमान्यताको प्रवर्द्धन गर्न सकिने उल्लेख गरे ।
प्राडा कृष्णचन्द्र शर्माले ‘दक्षिण एसियामा रामायण परम्परा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै रामायणका विभिन्न संस्करण, परम्परा र यसको क्षेत्रीय प्रभावबारे विश्लेषण गरेका थिए । उनले दक्षिण एसियाका विभिन्न देशमा रामायणका विविध रूप र सांस्कृतिक प्रभावबारे प्रकाश पार्दै यसको जीवित परम्परालाई जगेर्ना गर्न आवश्यक रहेको बताए ।
कार्यक्रमका अध्यक्ष एवं विश्वविद्यालयका रजिस्ट्रार सह प्राध्यापक सत्यनारायण साहले सम्मेलनले शैक्षिक अनुसन्धान, साहित्यिक विमर्श र सांस्कृतिक समझदारीलाई अझ सुदृढ बनाउने बताए । उनले यस्ता अन्तरराष्ट्रिय कार्यक्रमले नेपाललाई ज्ञान र संस्कृतिको केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुग्ने बताए ।
आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, चाइना र जर्मनीसहित विभिन्न देशबाट अनुसन्धानकर्ता, साहित्यकार तथा संस्कृतिविद्हरूको सहभागिता रहेको छ ।




