धनुषा –धनुषाको मिथिला नगरपालिका–७ स्थित ढल्केवरमा रहेको जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा बिहीबार राति भीषण आगलागी हुँदा करिब १५ करोड रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
उद्योगका प्रबन्धक सञ्जय गुप्ताका अनुसार राति करिब १० बजे सुरु भएको आगलागीका कारण उद्योगका विभिन्न संरचना तथा उपकरणमा ठूलो क्षति पुगेको छ। आगलागीबाट विशेष गरी स्टिम र थर्मोफुल गरी दुईवटा प्रसोधन मेसिनमा गम्भीर क्षति पुगेको र ती पूर्णरूपमा प्रयोग गर्न नसकिने अवस्थामा पुगेका उहाँले बताउनुभयो।




जनकपुर, महेन्द्रनगर र ढल्केवरबाट खटिएका पाँचवटा वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।
प्रबन्धक गुप्ताका अनुसार क्षतिको यकिन विवरण सङ्कलन गर्न अझै दुईदेखि तीन दिन लाग्नेछ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले आगलागीको कारण हालसम्म खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो।





