जनकपुरधाम – नेपाल पत्रकार महासंघ मधेश प्रदेश अन्तर्गतका आठवटै जिल्ला शाखाहरूले आमसञ्चार प्राधिकरणको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्।
महासंघका जिल्ला शाखाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम तथा सञ्चारकर्मीको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दा सरोकारवालासँग प्रभावकारी समन्वय नगरिएको आरोप लगाएका हुन्।



विज्ञप्तिमा मधेश प्रदेश सरकारअन्तर्गत रहेको आमसञ्चार प्राधिकरणले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। विशेषगरी महोत्तरीको बर्दिवासमा वैशाख १५ गतेदेखि सञ्चालन हुन लागेको स्थानीय तहमा पत्रकारिता प्रशिक्षणका लागि प्रशिक्षक तयार पार्ने तीनदिने आवासीय तालिमलाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।

महासंघका अनुसार प्रारम्भमा जिल्ला शाखाहरूबाट प्रशिक्षक पत्रकारहरूको नामावली माग गरिए पनि त्यसपछिको प्रक्रियामा महासंघसँग कुनै सार्थक छलफल नगरी अलग्गै सूचना प्रकाशित गरेर आवेदन आह्वान गरिएको थियो। यसले संस्थागत समन्वयको मर्मविपरीत काम भएको ठहर महासंघको छ।
त्यसैगरी चैत १७ गते आठै जिल्लाबाट पाँच/पाँच जनाको नाम मागिएपछि पनि प्राधिकरणले चैत २५ गते बेग्लै सूचना निकालेर विवरण पेश गर्न आग्रह गरेकोप्रति महासंघले आपत्ति जनाएको छ। यस्तो कार्यले समन्वय अभाव मात्र नभई महासंघको गरिमा र भूमिकामाथि प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ।

महासंघले यस्ता “गैरजिम्मेवार र असंवेदनशील” कार्यशैलीप्रति कडा विरोध जनाउँदै विगतमा सञ्चालन गरिएका एआईसम्बन्धी तालिमहरूमा समेत स्थानीय पत्रकारहरूको आवश्यकता र सन्दर्भलाई बेवास्ता गरिएको अनुभव दोहोरिनु चिन्ताजनक भएको जनाएको छ।
आगामी दिनमा यस्ता कार्यक्रमहरू योजना बनाउँदा र कार्यान्वयन गर्दा महासंघका जिल्ला शाखासँग अनिवार्य रूपमा समन्वय र सहकार्य गर्न माग गरिएको छ। साथै प्रदेश सरकारबाट विनियोजित बजेटको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका जिल्ला शाखा अध्यक्षहरू मनोज बनैता ( सिरहा), पुरन साह (धनुषा), ओमप्रकाश ठाकुर ( सर्लाही), महेशकुमार दास ( महोत्तरी), रमेश सुवेदी ( बारा), सञ्जय काकी ( रौतहट), ओमप्रकाश खनाल ( पर्सा ) र श्रवण देव ( सप्तरी) द्वा संयुक्त हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमा यस्ता मनपरी गतिविधिहरू तुरुन्त सच्याउन आग्रह गर्दै महासंघको सहभागिता, सम्मान र सहकार्यबिना सञ्चार क्षेत्रको दिगो विकास सम्भव नहुने स्पष्ट पारिएको छ।





