जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनको संघारमा छ । आगामी असार ७ गतेदेखि पार्टीको महाधिवेसन सुरु हुने कार्यतालिका छ ।
जेठ १७ गतेभित्र पालिका अधिवेशन सक्नुपर्ने रास्वपाको कार्यतालिका छ । तर, विवादका कारण अधिकांश ठाउँमा पालिका अधिवेशन हुन सकेको छैन ।



मधेस प्रदेशकै दर्जनौँ ठाउँमा विवाद छ । विवादका कारण पार्टीले घोषणा गरेको कार्यतालिका अनुसार अधिवेशनमा ढिलाइ भइरहेको छ ।
गएको शनिबार रास्वपाको बारा जिल्ला अधिवेशनमा विवाद भयो । एकपक्षीय ढंगले जिल्ला कार्यसमिति गठन गर्न लागेको आरोप लगाउँदै एउटा समूहले विरोध गरेको थियो । विवादपछि झगडा हुन थालेपछि पार्टीका प्रतिनिधिसभा सदस्यहरूलाई प्रहरीको सहारा लिनुपर्यो ।
nabil
गएको वैशाख २७ गते बारा जिल्ला कार्यसमिति केन्द्रीय समितिले विघटन गर्दै केहीलाई निष्कासित गरेका थिए । निष्कासित पक्षधरहरूले विरोध गरेको आरोप प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले लगाउँदै आएका छन् ।
तर, अर्को पक्ष भने भुइँ तहमा काम गर्ने पार्टीका सक्रिय सदस्यहरूलाई ‘बाइपास’ गरेर अधिवेशन गर्न खोज्दा आपत्ति जनाएको स्पष्टीकरण दिँदै आएका छन् । रास्वपा केन्द्रीय कार्यसमितिले बारामा जिल्ला कार्यसमिति गठन नगरी वडा र पालिका अधिवेशन गर्न निर्देशन दिइसकेको छ ।
महोत्तरीमा बिहीबार पालिका अधिवेशन हुँदै गर्दा विवाद भयो । जलेश्वर नगरपालिकामा आयोजित रास्वपाको नगरसभामा दुई पक्षबीच विवाद भयो ।
त्यहाँ सभापति पदका लागि दुईजना आकांक्षी छन् । अजय साह र विनय राय दुवै जलेश्वर नगरपालिका सभापति पदका आकांक्षी हुन् ।
एक पक्षले सर्वसम्मत् सभापति चयन हुनुपर्ने अडान लिएको थियो भने अर्को पक्षले निर्वाचनबाट सभापति चयन हुनुपर्ने जिकिर गरेको थियो ।
त्यही विषयमा दुवै पक्षबीच होहल्लासहित विवाद भएको महोत्तरी जिल्ला रास्वपाका सभापति शुभमकुमार यादवले जानकारी दिए । “सबै पदमा जान चाहन्छन् । सबैको इच्छा हुन्छ,” उनले भने, “त्यही विषयमा विवाद भएको थियो । तर, पार्टीले आफ्नो विधि अनुसार नै अधिवेशन गर्छ ।”
धनुषामा पनि विवादकै कारण १८ मध्ये चार पालिकामा मात्र अधिवेशन भएकोे छ । रास्वपा धनुषा सभापति लक्षमेश्वर यादवका अनुसार मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकामा मात्र अधिवेसन हुन सकेको छ ।
धनुषाधाम नगरपालिकामा जेठ ९ गते नै अधिवेशनको मिति तोकिएको थियो । तर, विवाद हुँदा अधिवेशन हुन नसकेको सभापति यादवले बताए ।
उनका अनुसार शुक्रबार तदर्थ समिति बनाएर अधिवेशन हुन्छ । यहाँ पनि दुई समूह छन् । हाल पालिका संयोजक राजकुमार ठाकुर र अर्को जेनजी उमेरका युवा सभापतिका आकांक्षी छन् ।
रास्वपा मधेस प्रदेश आरएटी विभाग संयोजक अम्भुप्रसाद साहले पनि जिल्ला सभापतिले सबै पालिकामा एकलौटी गरिरहेको आरोप लगाएका छन् । सभापति यादवले अधिवेशनमा तानाशाही प्रवृत्ति देखाएको उनको गुनासो छ । सबै पक्ष र सक्रिय युवालाई बाइपास गरेको उनको भनाइ छ ।
राजनीतिक विषयका जानकार प्राध्यापक रामु साहले राजनीतिको मुख्य उद्देश्य नै पद प्राप्ति भएको बुझेपछि विवाद हुने गरेको तर्क गरे ।
रास्वपामा देखिएको विवाद शक्तिका लागि रहेको उनले टिप्पणी गरे । तर, लोकप्रिय पार्टीमा विवाद हुनु उचित नभई लोकतान्त्रिक पद्धति अनुसार अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।
“निर्वाचन लगत्तै अधिवेशन हुँदा पनि केही समस्याहरू देखिएका छन्,” उनले भने, “पार्टी नेतृत्व पंक्तिले विधि बनाएर सबै पक्षलाई समेट्ने गरी निर्देशन दिनु आवश्यक छ ।”




