धनवीर महतो । गौशाला (महोत्तरी)
घरघरका युवाहरु स्थानियस्तरमै काम पाउनु । किसानले उत्पादन गरिएको सामग्री थोकदरमै विक्री भई बजारीकरणको समस्याको अन्त्य हुनु । कारखानबाट उत्पादित समानहरु बजारभन्दा सस्तो दरमा खरिद गर्नु पाउनु । चाहिएको समयमा आवश्यकता अनुरुप सहयोग पाउनु । यस्ता आश्वासन प्रायः चुनावको समयमा नेताहरु भाषणमा दिएका हुन्छन् । उनीहरु यस्तै भाषण प्रयोग गरि मत बटुल्ने काम गरेका हुन्छन् । यो कुनै मत माग्ने भाषणको शैली होईन न त कुनै काल्पनिक कथा नै । यो एउटा यस्तो यथार्थ प्रारुप हो जुन गौशालाका वडावासीको जनजीविकासँग प्रत्यक्ष सम्बन्ध गाँसि उनीहरुको दिनचर्या बदलिदिएको छ ।



गौशाला नगरपालिकाको एउटा यस्तो वडा । जहाँ देशकै सवैभन्दा ठुलो तीन उद्योगहरु संचालित छन् । देशकै ठुलो चिनीमिल, देशकै ठुलो पेपर मिल र दाना उद्योग गरि तीन ठुल ठुला उद्योगहरु एउटै वडाबाट संचालनमा आएपछि स्थानियको जीवनस्तर उस्काईदिएका छन् ।
पुर्व पश्चिम महेन्द्र राजमार्गभन्दा ६ किलोमिटर दक्षिणतर्फ पर्दछ, गौशाला नगरपालिका वडा नं. १ रामनगरवस्ती । जुन वस्तीमा एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड नामक चिनी उद्योग्, नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज नामक पेपर मिल र युवरानी मत्स्य तथा एग्रो ईण्डष्ट्रीज नामक दाना उद्योग संचालनमा छन् ।
यी उद्योगहरु मुनाफामै केन्द्रित छैन् । यस उद्योग संचालन भएपछि यहाँका हजारौ युवाहरु प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । प्रायः यहाँका ३ वटा घरमध्ये १ घरका व्यक्तिले ती उद्योगमा कुनै न कुनै रुपमा रोजगारका अवसर पाएका छन् । स्थानियस्तरमा नै रोजगारी सिर्जित भएपछि नगरवासीलाई वाहिर काम गर्नका लागि जानु पर्ने झन्झट छैन् । उनीहरुको दिनचर्या क्रमिक रुपमा सुधार भईसकेका छन् । वडाबासीको समग्र जनस्तमा सुधार भइसकेको छ ।
यति मात्र होईन्, चिनी उद्योगले उखु खरिद गरेपछि यहाँका हजारौ विग्हा क्षेत्रफलमा उखु खेती किसानहरु गर्दै आएका छन् । दाना र चल्ला उत्पादन गर्ने उद्योग संचालनमा आएलगतै पशुपालन र कुखुराफार्म गर्नेको सख्यामा बृद्धि भएको छ । स्थानीयस्तरमा उत्पादित यस्ता कच्चापदार्थ ती उद्योगले खरिद गरिदिएपछि स्थानियहरुलाई बजारसम्म जानुपर्ने झन्झट छैन् । सुलभ अनि सस्तो दरमा उद्योगमा उत्पादित समानहरु आवश्यकताअनुसार खरिद गर्न पाएका छन् । अर्थात भनौ यी उद्योग संचालनले वडावासीलाई रोजगारको साथै समग्र दैनिकीलाई परिणत गरिदिएका छन् ।
एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड रामनगर
महोत्तरीको गौशाला नगरपालिका १ नम्बर वडामा देशकै ठुलो चिनी उद्योगको रुपमा एभरेष्ट सुगर मिल चिनी उद्योग संचालनमा छन् । वि.सं. २०५१ सालमा शशिकान्त अग्रवाल, सुरेश सर्राफ लगायतका उद्योगपतिहरुले संयुक्त रुपमा संचालनमा ल्याएको यस उद्योगले सिजनमा ५ सय जना र अन्य समयमा २ सयको हाराहारीमा कामदारलाई रोजगारी प्रदान गर्दै आएका छन् । जसमा कार्यरत अधिकांश मजदुर र कर्मचारीहरुमा स्थानीय नै छन् । स्थानियस्तरमा कायम रहेको वेरोजगारको समस्या यस उद्योगले अन्त्य गरिएको छ । हातमा सीप हुने वा नहुनेले पनि दक्षता अनुरुप काम र दाम पाईरहेका छन् ।

मिल स्थापना हुने क्रममा आयोजित खुल्ला सभामा उद्योगका संचालकले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालासमक्ष गरिएको प्रतिवद्धता पुरा गरि देखाएका छन् । सोही प्रतिवद्धता अनुरुप सिजन र अप सिजनमा गरि दुई चरण्मा स्थानियलाई उद्योगले रोजगारीको प्रबन्ध गरिएका छन् । उद्योगपक्षले आफ्नोतर्फबाट वाचा निभाएका छन् भने स्थानियहरुले पनि उद्योगलाई हरसम्भव सुरक्षा प्रदान गर्दै सहयोग गर्दै आएका छन् ।
रामनगर गाविस हुँदा सो उद्योगले तत्कालिन समयमा आवश्यकअनुसारको सडक निर्माण, वाटोघाटो मर्मत सम्भार, चौतारो तथा सार्वजानिक भवनको निर्माण, खानेपानीको बन्दोवस्तजस्ता समाजलाई अतिआवश्यक मानिएको पूर्वाधारहरु निर्माण गरिदिएको उद्योगका पूर्वकर्मचारी रामपुकार महतो बताउँछन् । उनले थपे, ‘अहिले पनि रामनगरबासीको आवश्यक्ता परिपुर्ति गर्नका लागि रतिभरि कञ्जुसाँई गर्दैनन् । भोजभतेर, सभा समारोह हुँदा खानेपानीको बन्दोवस्त होस चाहे आपतकालिन अवस्थामा सवारी साधनको वन्दोवस्त उद्योगले निःशुल्क रुपमै प्रदान गर्दैछन् । समाज र उद्योगविचको परस्पर सम्बन्ध तीन दशकदेखि निरन्तर रुपमा पाँउदै आएको छ । जसकै कारण देशमा माओबादी द्वन्द्वकाल, मधेशीदलको आन्दोलन हुँदा समेत यस उद्योगमा कुनै किसिमको क्षति भएन् । उद्योगका प्रशासनपक्ष र मेनसरी विभाग चालु अवस्थामै रहे । हरपरिस्थितीमा उद्योगको नियमित रुपमा काम सुचारु नै रहे ।’

यस उद्योगले बर्षेणी लाखौ क्विन्टल उखु क्रसिङ्ग गर्ने गर्दछ । जसबाट हजारौ टन चिनी उत्पादन भईरहेका छन् । यो उद्योग देशकै अन्य चिनि उद्योगमध्ये सवैभन्दा ठुलो अनि व्यवस्थित चिनी उद्योगको रुपमा स्थापित भएका छन् । यहाँ अत्याधुनिक प्रविधीयुक्त संरचना, सुविधासम्पन्न आवासीय भवन, विग्हौ उब्जाउ जग्गा, व्यवस्थित र अत्याधुनिक प्रविधीमैत्री सवारी पार्किङ्ग स्थल छ । सिजनमा त २४ औं घण्टा अनि विना सिजन विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म दिनहुँ सैयकडौको संख्यामा मजदुर कार्यरत छन् । बाहिरको कर्मचारी र कामदारका लागि अवासीय क्वाटरको बन्दोवस्त गरिएको छ । जहाँ काम गर्नका लागि हरेक कोणबाट उपयुक्त बनिएको छ । जुन कर्मचारी संगमस्थलको रुपमा परिणत भएको छ ।
पहिले पहिले उद्योगमा हरेक काम मजदुरहरु गर्ने गर्दथ्यो तर पछिल्लो समयमा आएर अत्याुधनिक प्रविधी भित्र्याउँदा केहीमात्रामा मजदुर कटौती गर्न पुगेको उद्योग प्रशासनले स्वीकार गरेका छन् ।
नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज रामनगर
देश पेपरलेस अवस्थामा पुगिसकेको समयमा गौशाला नगरपालिका वडा नं. १ मै दोस्रो ठुलो पेपर उद्योग संचालनमा आएको छ । एभरेष्ट चिनी उद्योगभन्दा २ किलोमिटरको दुरीमा आइएमई ग्रुपको लगानीमा स्थापना भएको छ नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज । जुन नेपालकै सवैभन्दा ठुलो अनि व्यवस्थित पेपर उद्योगको रुपमा परिचित छन् । यहाँ कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादन प्रविधी आधुनिकताले भरिपुर्ण छ ।

काठमाण्डौ चन्द्रप्रसाद ढकाल, जनकपुरका गौतम सर्राफ, सर्लाहीका अरुण भण्डारी लगायतका उद्योगपतिहरु यहाँ पेपर उद्योग संचालनमा ल्याएको छ । करिब २ अर्ब रुपैयाँ लगानीमा निर्मित यस उद्योगले वि.सं. २०८१ सालबाट उत्पादन कार्य प्रारम्भ गरिएको छ । यहाँ दैनिकरुपमा ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त हुने गुणस्तरीय कागज उत्पादन भईरहेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर तथा कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन गर्दैछन् ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार यस उद्योगको सञ्चालनले स्थानियस्तरमा वेरोजगार समस्याको अन्त्य गरिदिएको छ । उनले भने, ‘यो उद्योग कम्पनीलाई मुनाफा नभई यसले मुुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दीगो औद्योगिक विकासलाई सहयोग गर्दै आएको छ । निजी क्षेत्रले गरेको आर्थिक सहयोगले सरकारलाई पक्कै पनि ‘होस्टेमा हैंसे’को उदाहरण सावित गरिदिएको छ ।’

यस उद्योगले प्रत्यक्षरुपमा ३ सय भन्दा बढी र अप्रत्यक्षरुपमा हजारौंका लागि रोजगारीका अवसर सिर्जना गरेको संचालक ढकालले जानकारी दिए । जसमा इन्जिनियर, प्राविधिक र कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसानहरु समेत समावेश छन् । उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरुलाई अवसर दिएका छन् ।
विगत कैयौं वर्षदेखि नेपाल कागज तथा कागजजन्य उत्पादनका लागि आयातमा निर्भर रहँदै आएकोमा त्यो अवस्थालाई यस उद्योगले अन्त्य गरिएको छ । मुलुकै ठूलो उद्योगमध्येको एक भृकुटी कागज कारखाना बन्द भएपछि यो उद्योग नै अहिले मुलुककै ठुलो पेपर उद्योगको रुपमा स्थापित भई कागजको समस्याको समाधान गरिदिएको उद्योग प्रशासनले जनाएको छ ।
युवरानी मत्स्य तथा एग्रो ईण्डष्ट्रीज रामनगर
बार्षिक ३० हजार मेट्रिन टन दाना उत्पादन गर्ने क्षमता रहेको अर्को उद्योग युवरानी एग्रो ईण्डष्ट्रीज पनि महोत्तरीको गौशाला–१ मै संचालित छन् । दाना उत्पादन प्लान्ट रहेको यो उद्योग पूर्ण एकीकृत कृषि व्यवसाय रहेको छ । यस कम्पनीले विशेष गरी गाईवस्तु, कुखुरा र माछाका लागि आवश्यक दाना उत्पादन गर्दै आएको छ ।
यस उद्योगले दाना उत्पादनका अतिरिक्त आफ्नै पोखरीहरूमा व्यावसायिक माछापालन, गाई वस्तु तथा कुखुरा पालन र चल्ला उत्पादनका लागि ह्याचरी सञ्चालन गरिरहेको छ । यहाँ कुखुराका चल्ला उत्पादन क्षमता वार्षिक ४० देखि ५० हजारसम्म रहेको छ । हालसम्म दाना उत्पादन र पशुपालनमा बलियो पकड बनाएको छ । यो कम्पनीले अब प्रशोधित मासुको व्यवसायमा प्रवेश गर्नका लागि आईपिओको पुँजी परिचालन गर्ने लक्ष्य लिएको राखेको हो ।

आर्थिक वर्ष २०२१ मा ५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले २०२५ सम्म आइपुग्दा ६५ करोड १० लाख रुपैयाँ पुर्याएको छ । कम्पनीको व्यापार औसत ८५ प्रतिशत दरले बढ्दै गएको छ । सञ्चालन नाफा मार्जिन १३.५२ प्रतिशत र खुद नाफा मार्जिन करिब ५ प्रतिशत रहेको छ । प्रवद्र्धकबाट १५ करोड रुपैयाँ थप लगानी आएपछि कम्पनीको वित्तीय अवस्था सुदृढ भएको छ ।
उद्योगहरुको खरानी र धुँवा व्यवस्थापन हुन सकेन्
यी उद्योगहरु मुख्यतः बस्तीकै छेउमा छन् । यसबाट निस्किने फोहोरपदार्थ, दुर्गन्ध, फोहोर पानी, ध्वनी प्रदुषणले त स्थानियहरु पिडा दिएका छन् । उच्च ध्वनिप्रदुषणका कारण उद्योग छेउमा घर भएका स्थानियहरु राति राम्ररी निन्द्रा पर्न नसकेको गौशाला नगरपालिका १ की गृहणी सुनिता कुमारी महतोले बताईन् । उनले थपिन्, ‘यी उद्योगहरुबाट आएको धुँवा र धुलो खानामा परेको हुन्छ, जसले आफुहरुका जनजीवनलाई आजित बनाएका हुन्छन् । धुँवा र धुलोको कारण स्थानियहरुमा मुटु रोग, आँखाको रोगजस्ता विरामी हुनेको संख्यामा बढोत्तरी भएको छ ।’
३३ बर्ष संचालनमा आईसकेतापनि गौशालाकै सवैभन्दा पुरानो उद्योगमध्ये एभरेष्ट चिनी उद्योग अझ व्यवस्थित हुन नसकेको स्थानिय मुकेश कुशवाहाले बताएका छन् । उनले भने, ‘उद्योग संचालनको क्रममा चिम्नीमार्फत उड्ने धुँवा र खरानीको कण उडेर घरघरमा आएका हुन्छन् । जुन स्थानियहरुको खाना र पिउने पानीमा मिश्रित हुन पुग्दछ । यसरी धुँवा र धुलोको कण खानपिनमा पर्न जाँदा स्थानीयहरु विरामी पर्ने गर्दछन् । स्थानियहरुमा प्रायः दम, मुटुको रोगी, स्वास प्रस्वास, झाडापखालाजस्ता विरामीको शिकार भएका छन् ।’
यस्ता समस्याले आजित स्थानीयहरु अनेकौपटक उद्योग प्रशासनसमक्ष लिखित र मौखिक रुपमा ध्यानाकर्षण गराईसकेका छन् । उनीहरुको सुनवाई कुनै पनि उद्योगले ठोस रुपमा समस्याको समाधान पहल गर्न नसकेको स्थानिय विरेन्द्रकुमार यादवले गुनासो पोखेका छन् । उनले भने, ‘उद्योगको मुख्य ध्यान मुनाफामै केन्द्रित छ । उद्योग प्रशासनलाई वातावरण, छेउछाउको वस्तीप्रति खासै मतलव नै छैन् । ठुलै आन्दोलन वा दवाव सिर्जना भएमात्र उद्योग प्रशासनले केही लचिलो भई समस्या समाधानतर्फ ध्यान केन्द्रित हुने गरेका हुन्छन् । अन्य कुरामा उद्योगलाई सोच्न फुर्सद नै कहाँ हुन्छ र ।’
सडक र पुलको समस्या यथावतै
एउटै वडामा तीन तीन वटा देशकै ठुलो उद्योगहरु स्थापना भएतापनि वडाको सडक जीर्ण छन् । यस वडाका कुनै पनि सडकहरु फराकिलो, चौडा, अनि व्यवस्थित छ्रैन् । यसप्रकारका विकासको सवालमा न उद्योगपक्षले सोचेका छन् । न त सरकारीस्तरबाट कुनै पहल भएको छ । एक अर्काको मुख हेरेर नै वडाको विकास चौपट भएको पूर्व वडाअध्यक्ष भिमवहादुर रानाले बताए । उनले भने, ‘उद्योग प्रशासनले बार्षिक करोडौ रुपैयाँ राजश्व सरकारलाई तिरेका हुन्छ । उनीहरु पनि सो अनुरुप सरकारी संयन्त्रबाट विकासको अपेक्षा गरेका हुन्छन् ।’
हरेक निर्वाचनमा वडाको समग्र विकासका एजेण्डा बोक्ने नेताहरु पहलकदमी नलिदा यस्तो समस्या सिर्जना हुन पुगेको पूर्व वडाअध्यक्ष रानाले स्वीकार गरेका छन् । उनले थपे, ‘सडक जीर्ण हुनु, कम चौडाको सडकबाट मालबाहक साधन ओहोरदोहोर गर्नु धेरै नै समस्याको विषय रहेको छ । त्यस्तै विजलुीको पोल र तार व्यवस्थित नहुँदा उद्योग संचालनमा पनि धेरै समस्या हुने गर्दछ ।’
उद्योगको छेउमै रहेको जंघा नदीमा पुल छ्रैन् । उद्योगको निकासी र पैठारीका लागि सवारीसाधनलाई घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । बर्षाको समयमा त खोलामा बाढी आउँदा कामदार तोकिएको समयमा डियुटीमा नआईदिदा उद्योगको कामकाज प्रत्यक्ष रुपमा प्रभावित हुँदै गएको छ । यस विषयमा अनेकौपटक सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदा कुनै सुनवाई हुन नसकेको उद्योगपक्षले जनाएको छ ।
नगरको उद्योगग्राम परियोजना तुहिँयो : पुर्व उपमेयर आशा लामा

उद्योगग्रामको रुपमा पालिकालाई रुपान्तरित गर्न यहाँ अभियान नै संचालनमा ल्याएको थियो । आफु नेतृत्व गरिरहेको समयमा गौशाला नगरपालिकाले हरेक कागजात तयार पारि यो अभियान तीव्रगति आरम्भ भएको थियो । गौशाला नगरपालिका वडा नं. ८ स्थित सोनी खोलाको छेउमा रहेको ३ सय विग्हा वगर जग्गालाई आरक्षित गरि उद्योग ग्राम स्थापना गर्ने प्रक्रिया अगाडि बढेको थियो । सो परियोजनालाई अन्तिम रुपमा दिनका लागि चीनका उद्योगपतिहरुसँग विभिन्न चरणमा संवाद भएका थिए । सोही क्रममा ती उद्योगपतिलाई स्थलगत निरिक्षण गराउन नगरपालिका सफल भएको थियो ।
नेपाल सरकारका तत्कालिन उद्योगमन्त्री मातृका प्रसाद यादवको विशेष पहलमा उद्योग ग्राम स्थानार्थ परियोजना निर्माणका लागि स्थल समेत छनौट भई सकेको थियो । कोरोना महामारी आएपछि सो परियोजनाको काम स्थगित भयो । त्यसपछि विश्वस्तरमा लादिएको आर्थिक संकटको कारण देखाउँदै ती उद्योगपतिहरु हात झिक्दा परियोजना अलपत्र परेका छन् । जुन अहिले पनि अलपत्र अवस्थामै छन् ।
एउटै वडामा देशकै ठुलो उद्योग संचालन हुनु गौरवको विषय : मेयर डा दिपेन्द्र महतो

उद्योग संरक्षण निम्ति नगरपालिकाको कार्यालय हरसम्भव तयार रहेको छ । नगरका विभिन्न स्थामा अनेकौ किसिमका उद्योगहरु संचालन छन् । जसबाट नगरलाई बार्षिक रुपमा करोडौको राजश्व (कर) असुल भईरहेका छन् । गौशाला नगरपालिका वडा नं. १ मा त देशकै ठुलो उद्योगहरु संचालन छन् । यो यस नगरको लागि गौरवको विषय हो ।
नगरविकासमा यसले विभिन्न समयमा धेरै नै सहयोग गर्दैछन् । यस्ता उद्योगहरुलाई आवश्यक परेकोखण्डमा नगरपालिका हरसम्भव तयारी छन् । यहाँ प्रशस्तमात्रा उद्योग स्थापनाका लागि जग्गाहरु छन् ।
देशभित्रका वा देशवाहिरका उद्योगपति कारखाना संचालन गर्ने बखतमा आफनो पालिका सहयोग गर्न तयार छन् । जंगल र खोलाको छेउ र वस्तीको विचमा रहेको यस उद्योगलाई व्यवस्थित गर्न नगरपालिकाले चाँडै नै पहलकदमी गर्नेछ । जनस्वास्थ्यको समस्या समाधानलाई ध्यानमा राखि उद्योग संचालन गर्नुपर्ने आवश्यक देखिन्छ ।





