सुजाता राई
विराटनगर। १६औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल कोशी प्रदेशका खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा टोली नेतृत्वलाई प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले नगदसहित सम्मान गरेको छ।



काठमाडौंमा जेठ २० देखि २२ गतेसम्म सम्पन्न १६औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले ४ स्वर्ण, ७ रजत र १७ कास्य गरी कुल २८ पदक जित्दै प्रदेशलाई पाँचौँ स्थानमा पुर्याएका थिए। सो उपलब्धिको कदर गर्दै विराटनगरमा आयोजित विशेष कार्यक्रममा २७ खेलाडी, प्रशिक्षक, व्यवस्थापक, टोली नेता तथा उपनेतालाई सम्मान गरिएको हो।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषका अनुसार स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख रुपैयाँ, रजत पदक विजेतालाई जनही ७५ हजार रुपैयाँ तथा कास्य पदक विजेतालाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र र दोसल्ला प्रदान गरिएको छ। साथै एथलेटिक्स, कराते, उसु र तेक्वान्दोका प्रशिक्षक र व्वस्थापक्लाई समेत क्रमश: जनही १५ हजार र १० हजार रुपैयाँ नगदसहित सम्मान गरेका हुन् ।
त्यस्तै,प्रतियोगितामा कोशी प्रदेशको नेतृत्व गरेर गएका टोली नेता र उपनेतालाई समेत १० हजार नगदसहित सम्मान गरेका हुन् ।
सम्मानित हुने खेलाडीहरूमा सुष्मिता बस्नेत, सोहेल मन्सुरी, निरोज थापा, पुष्पराज योगपाङ्देन, प्रकृति गुरुङ, गौरव विक, निमोशा याखा, रामिम राई, अविन दास, आशिका तिरुवा, अरुणा विक, दिप्सन नेम्वाङ, रोशिका काम्बाङ, लेसन राई, रेसिका धिमाल, निसा धिमाल, आयुषा बोहरा, प्रमोद राई, मानस थापा, अजिब राई, टंक यादव, रिसिका भुजेल, उमिता राई, युमी राई, हिरा मगर, प्रनिशा नेपाल तथा शशिका आले मगर रहेका छन्।
त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकतर्फ आसन राई, संजय राई, यशोदा चौधरी, अनितबहादुर गुरुङ, दलबहादुर खड्का, रोशन धामी, महेश यादव, दीपक कार्की र पूजा खवास सम्मानित भए। टोली नेता दुर्गाप्रसाद कथायत र टोली उपनेता बालकुमार खनाललाई पनि नगदसहित सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले खेलाडीसँग गरेको प्रतिबद्धताअनुसार प्रतियोगिता सम्पन्न भएको छोटो समयमै सम्मान कार्यक्रम आयोजना गर्न सफल भएको बताए। सीमित स्रोत र सुविधाबीच खेलाडीहरूले हासिल गरेको सफलता गौरवपूर्ण रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री कार्कीले १७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कोशी प्रदेशमा आयोजना हुने भएकाले आवश्यक बजेट व्यवस्थापनका लागि प्रदेश सरकारको बजेटमा विनियोजन गर्ने तयारी गरेको जानकारी दिए ।
सम्मान कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री रामप्रसाद मेहता, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलगायतले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेका थिए।
जेठ २० देखि २२ गते सम्म काठमाडौँमा सम्पन्न प्रतियोगितामा २८ पदक जित्दै कोशी प्रदेश ५ औँ स्थानमा रहन सफल भएको उक्त प्रतियोगिताको १७ औँ संस्करण कोशी प्रदेशमा हुनेछ।




