धनुषा । उच्च अदालत जनकपुरले दुई वर्षभन्दा बढी समयदेखि विचाराधीन रहेका सबै मुद्दा टुंग्याउँदै पुराना मुद्दाको संख्या शून्यमा झारेको छ।
अदालतले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को असार १९ गतेसम्मको प्रगति विवरणअनुसार दुई वर्ष नाघेका कुनै पनि मुद्दा अब विचाराधीन छैनन्। हाल १८ महिनादेखि दुई वर्ष अवधिका १३ वटा तथा एक वर्षदेखि डेढ वर्ष अवधिका ३८७ वटा मुद्दा मात्रै बाँकी रहेका छन्।



अदालतले पुराना मुद्दाको फछ्र्योटलाई उच्च प्राथमिकतामा राख्दै उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।
प्रगति विवरणअनुसार चालु आर्थिक वर्षमा जिम्मेवारी सरी आएका २ हजार २६७ र नयाँ दर्ता भएका ४ हजार १६१ गरी कुल ६ हजार ४२८ मुद्दा अदालतमा रहेका थिए। तीमध्ये असार १९ गतेसम्म ४ हजार ३३० वटा मुद्दा फछ्र्योट भइसकेका छन् भने २ हजार ९८ वटा मुद्दा अझै विचाराधीन छन्।
अदालतका रजिस्ट्रार विश्वजंग सिजापतिका अनुसार जिम्मेवारी सरी आएका २ हजार २६७ मुद्दामध्ये २ हजार ४७ वटा टुंगिएका छन् भने २२० वटा बाँकी छन्। त्यसैगरी, नयाँ दर्ता भएका ४ हजार १६१ मुद्दामध्ये २ हजार २८३ वटा फछ्र्योट भइसकेका छन् भने १ हजार ८७८ वटा मुद्दा विचाराधीन छन्।
चालु आर्थिक वर्षका लागि अदालतले ४ हजार ५४६ वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्य निर्धारण गरेको थियो। असार १९ गतेसम्म ४ हजार ३३० वटा मुद्दा टुंगिएसँगै लक्ष्यको ९५.२४ प्रतिशत प्रगति हासिल भएको अदालतले जनाएको छ।
मुद्दा फछ्र्योटका हिसाबले कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरको इजलास सबैभन्दा अगाडि रहेको छ। उनको इजलासबाट १ हजार ३१० वटा मुद्दा फछ्र्योट गरिएको छ।
त्यसपछि न्यायाधीश टीकाराम आचार्यले १ हजार ११५, जगदीश घिमिरेले ९४६, राजुराम सिलवालले ८९६, कृष्णप्रसाद सुवेदीले ८४६, कैलासप्रसाद सुवेदीले ८२६, फुर्पा तामाङले ७२३, मुरारीबाबु श्रेष्ठले ६८४, कमलप्रसाद पोखरेलले ६५९ तथा श्यामकुमार भट्टराईले ५७८ वटा मुद्दा फछ्र्योट गरेका छन्।
उच्च अदालत जनकपुरले पुराना मुद्दाको चाप घटाउँदै समयमै न्याय सम्पादनलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।




