महोत्तरी । धान रोपाइँको मुख्य समयमा रासायनिक मलको सहज उपलब्धता सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाका सबै स्थानीय तहलाई मलको मौज्दात, बिक्रीवितरण तथा मूल्यको अनुगमन गर्न निर्देशन दिएको छ ।
कार्यालयले बुधबार जारी गरेको सूचनामा स्थानीय तहलाई आफ्नो क्षेत्रभित्र रहेका मल बिक्री केन्द्र तथा सहकारी संस्थाको स्थलगत अनुगमन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।



कार्यालयका अनुसार किसानलाई आवश्यक पर्ने युरिया, डिएपी, पोटासलगायत रासायनिक मलको आपूर्ति सहज बनाउन, कृत्रिम अभाव हुन नदिन तथा कालोबजारी नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त निर्देशन जारी गरिएको हो । सूचना अनुसार स्थानीय तहले मल बिक्री केन्द्रको नाम र ठेगाना, युरिया, डिएपी र पोटासलगायत मलको मौज्दात अवस्था, बिक्री भइरहेको मूल्य, नेपाल सरकारले तोकेको मूल्य कार्यान्वयन भए÷नभएको, कृत्रिम अभाव वा कालोबजारी भए/नभएकोलगायतका विषय समेटेर प्रतिवेदन पेस गर्नुपर्ने छ ।
त्यसै गरी अनुगमनका क्रममा देखिएका समस्या तथा समाधानका सुझावसमेत प्रतिवेदनमा समावेश गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई निर्देशन दिएको छ ।




