सुजाता राई
विराटनगर । कोशी प्रदेशका विभिन्न खेल विधा र कला–संस्कृति क्षेत्रमा सक्रिय व्यक्तिहरूको सहभागितामा ‘कला, संस्कृति तथा समावेशी खेलकुद’ नामक संस्था गठन गर्ने उद्देश्यले शनिबार विराटनगरस्थित पोखरिया माध्यमिक विद्यालयमा भेला सम्पन्न भएको छ।
सुधिर केसीको अगुवाइमा आयोजित भेलामा विभिन्न खेल तथा सांस्कृतिक क्षेत्रलाई समेटेर तयार गरिएको संस्थाको विधान मस्यौदा प्रस्तुत गरिएको थियो। प्रस्तावित संस्थाले कुस्ती, मिश्रित कुस्ती, कबड्डी, मार्सल आर्ट, स्काउट, साहसिक खेललगायत कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा काम गर्ने उद्देश्य राखेको जनाइएको छ।



कबड्डीका वरिष्ठ प्रशिक्षक तथा प्रशासनिक अनुभवसम्पन्न व्यक्तित्व केशवराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सुधिर केसीको संयोजकत्वमा १५ सदस्यीय प्रारम्भिक आयोजक समिति गठन गरेको हो।

समितिको सहसंयोजकमा फणिन्द्र दाहाल (सुनसरी), सदस्य–सचिवमा पुण्य चोलागाईं (सुनसरी), सचिव तथा कोषाध्यक्षमा उसुकी राष्ट्रिय खेलाडी शर्मिला राई (भोजपुर) चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा एथलेटिक्सका सन्तोष बनियाँ (मोरङ), कबड्डी प्रशिक्षक उपेन्द्र यादव, उसु खेलाडी पूजा खवास (झापा), कुस्तीका मनोजकुमार शर्मा (मोरङ), रोशन मेहता, एथलेटिक्सका सुरज पाण्डे (सुनसरी), कुस्ती प्रशिक्षक बसिर मियाँ (सुनसरी), कवि तथा सञ्चारकर्मी सुजाता राई, कवि तथा नेपाल साना घरेलु उद्योग महासंघका केन्द्रीय अध्यक्ष राधिका पन्थि (मोरङ) तथा राष्ट्रिय कुस्ती खेलाडी प्रियका सरदार र लक्ष्मी सरदार रहेका छन्।
भेलाले खेलकुद महासंघका पूर्व सदस्य–सचिव केशव विष्टलाई प्रमुख सल्लाहकार चयन गरेको छ। त्यसैगरी पूर्व प्रदेशसभा सदस्य कल्पना चौधरी, कराते महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष तथा नेपाल प्याराग्लाइडिङ संघका केन्द्रीय उपाध्यक्ष किरण राई, कबड्डीका वरिष्ठ प्रशिक्षक केशवराज गौतम तथा पोखरिया माध्यमिक विद्यालय विराटनगरका प्रधानाध्यापक खेम भट्टराईलाई सल्लाहकारमा चयन गरियो।
भेलामा सहभागीहरूले खेल, कला र संस्कृतिलाई एउटै साझा मञ्चमार्फत अघि बढाउँदै समावेशी विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।




