जनकपुरधाम — हजरत मोहम्मद मुस्तफा सल्ल्लाहु अलैहि वसल्लमको १५०१ औँ शुभ जन्मोत्सवको पावन अवसरमा जनकपुरधामको तपसि चोकमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रबिउन नूर कमिटी, जनकपुरधामको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको प्राविधिक सहयोग तथा ब्लड फर नेपालको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम संयोजक इजाज अन्सारी र कमिटी अध्यक्ष अजिज राइनको नेतृत्वमा सम्पन्न रक्तदान कार्यक्रममा कुल ३५ जनाले रक्तदान गरेका छन्।




आयोजकका अनुसार रक्तदान गर्नेहरूमा ३० जना पुरुष र ५ जना महिला रहेका छन्। कार्यक्रमलाई राजर्षि जनक क्याम्पसले सहयोग पुर्याएको थियो। ब्लड फर नेपालको तर्फबाट निशान्त जि लगायतको सकृय सहभागी थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष अजिज राइनले ‘रक्तदान गरी गरौँ जीवनदान’ भन्ने मूल नाराका साथ समाजमा भाइचारा र मानवीय सेवाको भावना जागृत गराउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो।




