जनकपुरधाम।नेपाल र भारतबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने महत्त्वपूर्ण कदमस्वरूप भारतीय रेलवेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न औपचारिक स्वीकृति प्रदान गरेको छ।
भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) दिल्लीले शनिबार (१४ नोभेम्बर २०२६) जारी गरेको सूचनाअनुसार भारतको रेल मन्त्रालयको यो निर्णयसँगै दुई देशबीचको धार्मिक पर्यटन र द्विपक्षीय मित्रताले नयाँ उचाइ लिने भएको छ।



रामायण परम्परासँग गहिरो रूपमा जोडिएका दुई पवित्र स्थलहरू-माता सीताको जन्मस्थल जनकपुरधाम र भगवान् श्रीरामको जन्मस्थल अयोध्यालाई यस रेल सेवाले सीधा जोड्नेछ। यसले दुवै देशका तीर्थयात्री तथा पर्यटकहरूलाई यी प्रमुख धार्मिक एवं सांस्कृतिक केन्द्रहरूसम्म प्रत्यक्ष र सहज पहुँच पुर्याउन मद्दत गर्नेछ।
करिब ४६४ किलोमिटर दूरी तय गर्ने यो साप्ताहिक रेल सेवाले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर तथा नगरहरू हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसम्म जोड्नेछ।
यो सेवा हप्ताको एकपटक मात्र सञ्चालन हुनेछ, जसअन्तर्गत जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने तालिका तय गरिएको छ।
टर्मिनल स्टेसनहरू बाहेक यस रेलका जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनीहरू रहनेछन्, जहाँ यात्रु चढाउने तथा ओराल्ने सुविधा उपलब्ध हुनेछ।
नयाँ रेल सेवा सञ्चालनमा आएपछि सीमापार यात्रा विशेष गरी तीर्थयात्री र पर्यटकका लागि अत्यन्त सहज बन्ने अपेक्षा गरिएको छ।
यसले भारत सरकारको महत्त्वाकाङ्क्षी ‘रामायण सर्किट’ अवधारणाअन्तर्गतको धार्मिक पर्यटनलाई प्रोत्साहन गर्नुका साथै शिक्षा, स्वास्थ्य उपचार, व्यापार र पारिवारिक भेटघाटका लागि सीमापार आवतजावत गर्ने सर्वसाधारणका लागि ठूलो राहत पुर्याउनेछ।
रेलमार्गले जोड्ने यस क्षेत्रका पर्यटन व्यवसायी, होटल तथा आतिथ्य क्षेत्र, स्थानीय व्यापारी र परम्परागत कालीगढहरूले नयाँ व्यावसायिक अवसर प्राप्त गर्नेछन् भने यसले स्थानीय तथा क्षेत्रीय अर्थतन्त्रलाई समेत चलायमान बनाउनेछ।
साथै, नेपालको मधेश प्रदेश र भारतको बिहार तथा उत्तर प्रदेशका सीमावर्ती क्षेत्रका बासिन्दाका लागि यात्राको थप भरपर्दो विकल्प उपलब्ध हुनुका साथै आर्थिक र सामाजिक सम्बन्ध अझ सुदृढ हुनेछ।
नेपाल र भारतबीच सदियौँ पुरानो सांस्कृतिक, ऐतिहासिक र सामाजिक सम्बन्ध रहँदै आएको छ। धार्मिक परम्परा र सीमावर्ती समुदायबीचको निर्वाध आवागमन दुई देशको साझेदारीका मुख्य आधार हुन्।
रेल कनेक्टिभिटीको यो नयाँ पहलले दुई देशका जनता र समुदायहरूलाई अझ नजिक ल्याउनुका साथै यातायात सञ्जाल विस्तार र चिरस्थायी मित्रतालाई थप मजबुत बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ।
भारतीय विदेश सचिव विक्रम मिस्री हालै भएको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँग रेल रुटबारे कुरा गरेका थिए। भेटमा मिस्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म सिधा रेल सेवा सञ्चालन गर्नेबारे जानकारी गराएका थिए।
जनकपुरधाम-अयोध्या रेल सँचालनको मिति तय, मंसिर ७ गते दुबै देशका प्रधानमन्त्रीले सँयुक्त उदघाटन गर्ने
भगवान् रामको जन्मस्थल मानिने भारतको अयोध्या र माता सीताको जन्मस्थल मानिने नेपालको जनकपुरधामलाई जोड्न नयाँ वन्दे भारत एक्सप्रेस रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। उक्त रेल सेवाको शुभारम्भ आगामी नोभेम्बर २३ अर्थात् मंसिर ७ गते गरिने निमन्त्रणापत्र सार्वजनिक भएको छ।
उत्तर रेलवे, लखनउ मण्डल रेल प्रबन्धक कार्यालयद्वारा जारी निमन्त्रणापत्रअनुसार अयोध्या रेलवे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी नयाँ वन्दे भारत एक्सप्रेस रेललाई हरियो झण्डा देखाएर सेवा शुभारम्भ गरिनेछ।
कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भिडियो कन्फरेन्समार्फत सहभागिता जनाउने उल्लेख छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बर २३ अर्थात् मंसिर ७ गते हैदराबाद हाउसबाट भिडियो कन्फरेन्समार्फत रेल सेवाको संयुक्त रूपमा शुभारम्भ गर्नुहुनेछ।




