धनुषा । जनकपुरधाममा यस वर्ष मनाइने रामजानकी विवाहपञ्चमी महामहोत्सवको तयारी औपचारिक रूपमा सुरु गरिएको छ । साताव्यापी रूपमा मनाइने महोत्सवलाई भव्य, व्यवस्थित र सुरक्षित बनाउन जानकी मन्दिरले विभिन्न समिति तथा उपसमिति गठन गरी तयारी अघि बढाएको हो ।
आगामी मङ्सिर २३ गतेदेखि सुरु हुने विवाहपञ्चमी महामहोत्सवको व्यवस्थापन तथा आवश्यक तयारीबारे बिहीबार जानकी मन्दिरमा सर्वपक्षीय बैठक आयोजना गरिएको थियो । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवको अगुवाइ तथा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको संयोजनमा बसेको बैठकले महोत्सव सफल बनाउन विभिन्न निर्णय गरेको छ ।



जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवको अनुसार बैठकले महोत्सवको शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रंगभूमि मैदान तथा प्रवेशद्वार व्यवस्थापन, पण्डाल निर्माण, ट्राफिक व्यवस्थापन, खानेपानी र विद्युत् आपूर्तिलगायतका कामका लागि छुट्टाछुट्टै समिति तथा उपसमिति गठन गरेको हो ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले विगतका वर्षभन्दा यस वर्षको विवाहपञ्चमी महोत्सवलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यले सरोकारवाला निकायसँग समन्वय गरी तयारी थालिएको जानकारी दिनुभयो ।
महोत्सव सफल बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरकारी कार्यालयहरूको सक्रिय सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
त्रेतायुगमा भगवान् राम र माता सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव मनाउने गरिन्छ । यस अवसरमा नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहित विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा साधुसन्त, श्रद्धालु तथा दर्शनार्थी जनकपुरधाम आउने गर्छन् ।
श्रद्धालुको बढ्दो चापलाई मध्यनजर गर्दै बैठकमा सहभागी सरोकारवालाले उनीहरूको स्वागत, सत्कार, आवास, सुरक्षा तथा आवागमनलाई सहज बनाउन विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । विशेषगरी धार्मिक अनुष्ठान हुने स्थल, रंगभूमि मैदान र जानकी मन्दिर परिसरमा भीड व्यवस्थापन तथा सुरक्षा प्रबन्ध प्रभावकारी बनाउनुपर्ने धारणा सहभागीहरूले राखेका थिए ।
बैठकमा धार्मिक सङ्घसंस्था, नागरिक समाज, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, सञ्चार क्षेत्र तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले विवाहपञ्चमी धार्मिक आस्थासँग मात्र सीमित नरही मिथिलाको कला, संस्कृति, परम्परा र नेपाल–भारतबीचको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने महत्वपूर्ण उत्सव भएको बताएका थिए । यसको सफल आयोजनाका लागि मन्दिर प्रशासनदेखि सरकारी निकाय, नागरिक समाज र स्थानीयवासीसम्म सबै पक्षको साझा जिम्मेवारी रहने उनीहरूको भनाइ थियो ।
मिथिलाको सांस्कृतिक पहिचान र धार्मिक पर्यटनसँग प्रत्यक्ष जोडिएको विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित रूपमा सम्पन्न गर्न जानकी मन्दिरले प्रारम्भिक चरणदेखि नै सरोकारवाला निकायसँग समन्वय र सहकार्यलाई प्राथमिकता दिएको छ । महोत्सवको तयारी समयमै पूरा गरी देश तथा विदेशबाट आउने श्रद्धालुलाई सहज रूपमा धार्मिक अनुष्ठानमा सहभागी हुने वातावरण बनाउने लक्ष्य राखिएको छ ।—अजयकुमार साह, ९८४४०२५१८४




