सुजाता राई
मोरङ। ‘कोसी साहित्य–कला परिषद् नेपाल’ को औपचारिक सार्वजनिकीकरणसँगै बेलबारीका ऐतिहासिक, सामाजिक तथा साहित्यिक व्यक्तित्व साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथि विमर्श गर्ने कार्यक्रम बेलबारी बहुमुखी क्याम्पस, मोरङमा सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा उपद्रष्टा हर्कमान तामाङ रहेका थिए। त्यस्तै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार केशव आचार्य, डा. दीपकप्रसाद न्यौपाने, कवि तथा समीक्षक मिश्र बैजयन्ती, भाषाविद् अमृतप्रसाद आचार्य, पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, छन्दवाटिका नेपाल अध्यक्ष हरि कट्टेल, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला लगायतका साहित्य–स्रष्टाहरूको उपस्थिति थियो।

कार्यक्रममा सुवेदीको काव्यकारिताबारे डा. न्यौपाने, आख्यानकारिताबारे समीक्षक बैजयन्ती र समकालीन पक्षबारे साहित्यकार तामाङले विशद् प्रस्तुति राखे।
बेलबारी नगरप्रमुख राई, साहित्यकार आचार्य, निरौला, तथा परिवारतर्फबाट श्रषिकेश सुवेदी र परसुराम सुवेदीले सुवेदीको व्यक्तित्व र योगदानमाथि आफ्ना विचार राखे।
साहित्यकार रेखा सुवेदी, हरि कट्टेल, कृष्ण उदासी र युवराज ठकुरीले सुवेदीका कविता वाचन गरे। सप्तक कला केन्द्र, सलकपुरका कलाकारले सुवेदीका लोकप्रिय गीत प्रस्तुत गरे।
अध्यक्ष केशु विरहीले संस्थाको उद्देश्य, भावी योजना तथा कार्यदिशा बारे जानकारी दिँदै—“अग्रजको सम्मान, नयाँ पुस्तामा प्रेरणा, साहित्यको थिति बसाल्ने प्रयास, साझा चौतारी निर्माण र साहित्य–कला ग्रामको अवधारणा”—मुख्य लक्ष्य भएको बताए।
विरहीले खादा–माला न्यूनतम प्रयोग, स्रष्टाको बौद्धिक श्रमको मूल्य (पारिश्रमिक) सुनिश्चितता तथा कार्यक्रमलाई मञ्चको सीमाभन्दा पर लैजाने प्रतिवद्धता व्यक्त गरे।

संस्थाले १ रुपियाँबाट सुरु गरी १ करोड बराबरको अक्षयकोष निर्माण गर्ने अभियान पनि प्रारम्भ गरेको जानकारी दिइयो।
कार्यक्रममा उपाध्यक्ष विष्णु भण्डारी आचार्यले स्वागत मन्तव्य राखिन्।
अध्यक्ष केशु विरहीको अध्यक्षता तथा सचिव नवराज पोखरेल ‘नवशिला’ को सञ्चालनमा कार्यक्रम सम्पन्न भयो।




