ज्यानै लिने अपराध आफन्तबाटै
घटना १ : गत ५ असोजमा काभ्रेको पनौती– १२ गागलकी ३० वर्षीया मनीषा घ्यावा तामाङको शव घरदेखि करिब डेढ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटियो । ४ असोजदेखि हराएकी उनको खोजी गर्दा शव भेटिएको थियो । थप अनुसन्धान गर्दा पत्ता लाग्यो, मनीषाको हत्या उनकै श्रीमान् सन्तबहादुर तामाङले गरेका थिए । गाउँकै महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा नक्खु कारागारमा कैद भुक्तान गर्दै आएका उनी जेन–जी आन्दोलनका क्रममा भागेर घर पुगेका थिए । मनिषाको हत्या हुनुभन्दा एक–दुई दिनअघि मात्रै सन्तबहादुर जेलबाट आएर घरमा लुकेको गाउँलेले थाहा पाएका थिए । अपराध छिपाउन तत्कालै नक्खु कारागार फर्किएका थिए । ३ असोजमा कारागारमा उपस्थित भएका उनले त्यसको अघिल्लो दिन राति मनीषाको हत्या गरेको अनुसन्धानमा खुलेको छ । श्रीमती परपुरुषसँग लागेको आशंकामा हत्या गरेको उनले बताएका छन् ।



घटना २ : गत २९ साउनमा २७ वर्षीया ललिता विकको शव गोंगबुको एक होटेलको खाटमा भेटियो । हत्या आरोपमा पर्साबाट १ भदौमा पक्राउ परे उनका श्रीमान् काभ्रे घर भएका ३० वर्षीय सन्तोष सेञ्चुरी । दुवैबिच सम्बन्ध नराम्रो भएकाले उनीहरू छुट्टाछुट्टै बस्दै आएका थिए । औपचारिक रूपमा सम्बन्धविच्छेद गर्ने विषयमा छलफल गर्नका लागि सन्तोषले ललितालाई भेट्न बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
घटना ३ : गत १४ जेठमा बुटवल उपमहानगरपालिका– ११, मैत्रीपथमा ३३ वर्षीया दीपा बस्यालसहित दुई छोरीहरू सात वर्षीया स्नेहा र चार वर्षीया हिमानीको हत्या भयो । हत्यारा थिए, दीपाका पूर्वश्रीमान् सुरज कोइराला जो यसअघि पनि आफ्नै दाइको हत्या अभियोगमा जेल सजाय भोगेकामा ०८१ असोजमा राष्ट्रपतिबाट आममाफी पाएर छुटेका थिए । विवाहको चार महिनापछि नै दाइको हत्या अभियोगमा कोइराला जेल गएपछि दीपाले उनीसँग सम्बन्धविच्छेद गरी कावासोतीमा अर्को विवाह गरेकी थिइन् ।
००० ०००
मन नमिल्दा श्रीमान्–श्रीमती अलग हुन पाउने अधिकार कानुनले नै दिएको छ । तर, मन नमिल्दा अलग हुने प्रक्रियामा वा अलग भइसकेपछि पनि ज्यानै लिनेजस्तो जघन्य अपराधका घटना नेपाली समाजमा बढ्दो छ । सम्बन्धमा निम्तिएको बेमेलबिच भएका हत्याका घटनाको प्रहरी तथ्यांक हेर्दा झस्काउने खालको छ ।
०८०/८१ मा आफन्तबाटै २४१ जना मारिएकामा श्रीमान्बाटै मारिने महिला ९० जना छन् । सोही वर्ष १२ पुरुष श्रीमतीबाट मारिएको प्रहरी तथ्यांक छ । त्यस्तै, ०८१/८२ मा आफन्तबाटै २०७ जनाको हत्या हुँदा श्रीमान्बाट ६९ महिला मारिएका छन् । सोही वर्ष १६ पुरुष श्रीमतीबाट मारिएका छन् । कुटपिट, घरेलु हिंसाजस्ता घटनाबाट जोगिन तथा अन्य कारणले महिलाले छुट्टै बस्ने वा सम्बन्धविच्छेद गर्ने विकल्प रोज्ने क्रम बढ्न थालेको छ । यस्तो अवस्थामा श्रीमान्कै निसानामा महिलाहरू पर्ने गरेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका नौडाँडा घर भई पोखरा बस्दै आएका ४२ वर्षीय जहरसिंह कुँवरले ४० वर्षीया श्रीमती राधिकाको हत्या गरे । दुवैबिच सम्बन्ध नराम्रो भएकाले सम्बन्धविच्छेदका लागि अदालती प्रक्रिया पनि सुरु भइसकेको थियो । तर, आदेश नआएसम्म सँगै बस्ने सहमतिअनुसार बसिरहेका थिए । यसै क्रममा राधिका घरबाहिर निस्किन खोज्दा २६ भदौ ०८१ मा जहरसिंहले खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
त्यस्तै, ०७३ भदौमा पोखरामा पनि यस्तैखाले घटना भएको थियो । सञ्जीवबहादुर नेपालीले आफ्नी श्रीमती सोनम रेग्मीको हत्यापछि आत्महत्या गरेका थिए । श्रीमतीले डिभोर्स माग्दै अदालतसम्म पुगे पनि उनले सम्बन्ध तोड्न मानेका थिएनन् । यसै विषयले हत्या र आत्महत्याको रूप लिएको थियो । अर्कैसँग विवाह गरेपछि पनि पूर्वपति वा पूर्वपत्नीबाट हत्या भएका घटना छन् । तर, यसको तथ्यांक प्रहरीसँग छैन ।
गत ३१ असारमा प्युठानको सरुमारानी गाउँपालिकामा २८ वर्षीया रुक्मणी बरालको हत्या पूर्वश्रीमान् ३० वर्षीय लीलबहादुरले गरेका थिए । लीलबहादुरले नै फोन गरी बोलाएर चक्कु प्रहार गरी हत्या गरेका थिए । प्रहरीका अनुसार पूर्ववैवाहिक रिसइबीका कारण हत्या भएको देखिएको छ ।
त्यस्तै, सम्बन्धविच्छेद भएको १० दिनपछि २५ जेठ ०८१ मा ३६ वर्षीय शालिकराम बुढाथोकीले ३१ वर्षीया टीका रावतको हत्या गरेका थिए । शालिकरामले टीकालाई अर्कै पुरुषसँग देखेपछि खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
प्रहरीका अनुसार श्रीमान्–श्रीमतीको विवाद, पारिवारिक मनमुटाव र घरेलु हिंसाका कारण यस्ता घटना हुने गरेका छन् । साथै मानसिक स्वास्थ्य समस्या तथा शिक्षा र सचेतनाको अभावले पनि हत्याका घटना बढिरहेका छन् ।
त्रिवि समाजशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. टीकाराम गौतम पछिल्लो समय नेपाल मात्र नभई विश्वमै सम्बन्धविच्छेदका घटना बढेको बताउँछन् । ‘अहिले हाम्रो सामाजिक–आर्थिक संरचना, सम्पत्तिको स्वामित्व, कानुनी अवस्था, शिक्षा, रोजगारीलगायतका साधन–स्रोत आदिमा महिलाको पहुँच र सम्बन्धविच्छेद तथा महिला र पुरुषलाई हेर्ने दृष्टिकोण फेरिएको छ । पहिलेजस्तो महिलालाई गाह्रो छैन । तर, एकजनाको मात्रै इच्छाले हुने भएपछि सम्बन्धविच्छेदका घटनाले व्यक्तिहरूको व्यवहारमा परिवर्तन ल्याइरहेको छ,’ उनले भने, ‘पुरुषले नचाहे पनि महिलालाई सम्बन्धविच्छेद सहज भएपछि फरक परिस्थिति बन्ने भयो । अनि आवेगमा झन् चरम विचलन आउने भयो,’ गौतमले भने ।
नेपाली समाज अहिले संक्रमणकालीन अवस्थामा रहेको र पुरानो पितृसत्तात्मक व्यवस्था छोड्न खोजे पनि नयाँलाई स्विकार्न नसकेको परिस्थिति बनेकोले गतिशील र परिवर्तनशील समाजमा मान्छेका अपेक्षा बढेको उनले बताए । यस्तोमा अपराध घटाउन व्यक्ति र पारिवारिक तहबाट समाजमा प्रभाव पार्ने गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव गौतमले दिए ।
परिवार विघटन विश्वभरि नै बढेको छ, त्यसैको प्रभाव नेपाली समाजमा पनि परेको छ : डा. टीकाराम गौतम सहप्राध्यापक, समाजशास्त्र केन्द्रीय विभाग, त्रिवि
अहिले हाम्रो सामाजिक–आर्थिक संरचना, सम्पत्तिको स्वामित्व, कानुनी अवस्था, शिक्षा, रोजगारीलगायतका साधन–स्रोत आदिमा महिलाको पहुँच र सम्बन्धविच्छेद तथा महिला र पुरुषलाई हेर्ने दृष्टिकोण फेरिएको छ । पहिलेजस्तो महिलालाई गाह्रो छैन । तर, एकजनाको मात्रै इच्छाले हुने भएपछि सम्बन्धविच्छेदका घटनाले व्यक्तिहरूको व्यवहारमा परिवर्तन ल्याइरहेको छ । आदर्श नियम र कानुन हुँदाहुँदै संवेगात्मक परिस्थितिले विचलित हुने अवस्थामा लैजान्छ ।
मान्छे हुर्केको समाज पछि बनेका नयाँ कानुन तथा समाजसँग मिल्दैन । व्यक्तिले खोजेको कुरालाई, इच्छालाई कानुनले र समाजले नस्विकार्दा फरक व्यवहार देखाउने भए । पुरुषले नचाहे पनि महिलालाई सम्बन्धविच्छेद सहज भएपछि फरक परिस्थिति बन्ने भयो । अनि आवेगमा झन् चरम विचलन आउने भयो ।
नेपाली समाज अहिले संक्रमणकालीन अवस्थामा छ । पुरानो पितृसत्तात्मक व्यवस्था छोड्न खोजेको, तर नयाँलाई स्विकार्न नसकेको अवस्था छ । फरक व्यवस्था निर्माण हुँदै छ । यो गतिशील र परिवर्तनशील समाजमा मान्छेका अपेक्षा बढेका छन् । परिवारको विघटन विश्वभरि नै बढेको छ । नेपाली समाजमा पनि त्यसैको प्रभाव परेको हो ।
स्थानीय सरकार, सामाजिक क्षेत्र, सरकारी तथा गैरसरकारी संस्थाले सबैभन्दा पहिला त चेतना फैलाउने खालको कार्यक्रम गर्नु, नागरिकलाई सुसूचित गर्नु जरुरी छ । व्यक्ति र पारिवारिक तहमै समभाव, सहकार्यको अभ्यास गराउनुपर्छ । व्यक्तिका इच्छा कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसको अभ्यास गराउने हो । साथै, नयाँ कानुन बनाउँदा प्रशिक्षण दिनुपर्छ । जसकारण यस्ता घटनामा केही कमी ल्याउन सकिन्छ । -नयाँ पत्रिका





