नेपाल-भारतका विभिन्न क्षेत्रमा मनाइने जितिया पर्वको अवसरमा नेपाल–भारत माहिला मैत्री समाजले काठमाडौंमा शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
विभिन्न राजनीतिक दलका सांसद तथा नेता, महिला संघका पदाधिकारी, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी तथा नेपालस्थित भारतीय राजदूतावासका प्रतिनिधि कार्यक्रममा सहभागी भएका छन् ।

समारोहमा नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष सांसद चन्दा चौधरीले जितिया जस्ता सांस्कृतिक पर्वले नेपाल र भारतका महिलालाई जोड्ने बताइन् ।
चौधरीले महिला मैत्री समाजका माध्यमबाट महिला सशक्तीकरणको लागि भएका अनेकौं सामाजिक कार्यक्रम, शान्ति र मित्रताको सम्वर्द्धन, शिक्षा र सीप विकासमा योगदान गरेको बताइन् ।

कार्यक्रममा पूर्व–उपसभामुख चित्रलेखा यादवले धार्मिक संस्कृतिले नेपाल र भारतका जनतालाई जोड्ने बताइन् ।
नेपालस्थित भारतीय राजदूतावासको तर्फबाट महिला प्रतिनिधिको रूपमा उपस्थित गरिमा नौटयालले नेपाल भारत महिला मैत्री समाजको कार्यक्रमले नारी शक्तिको सन्देश प्रकट भएको बताइन् ।
चन्दा चौधरी नेतृत्वको नेपाल–भारत माहिला मैत्री समाजले नेपालका महिला सशक्तीकरणको लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।




