महोत्तरी – नेपाल सरकारको विदा सूचीअनुसार भोली शुक्रबार शहिद दिवसको अवसरमा सार्वजनिक विदा दिइएको छ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहिद दिवसको अवसरमा देशभर सरकारी कार्यालयहरू बन्द रहनेछन् ।
यसैबीच, मधेश प्रदेश सरकारले आईतबार रविदास जयन्तीको अवसरमा पनि सार्वजनिक विदा दिएको छ । मधेश प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार मधेश प्रदेशभित्र बसोबास गर्ने दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायले मनाउने रविदास जयन्तीको अवसरमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।



उक्त निर्णयअनुसार आईतबार मधेश प्रदेशका आठवटै जिल्लामा सरकारी कार्यालयहरू बन्द रहनेछन् । भोली शुक्रबार शहिद दिवस, पर्सी शनिबार नियमित साप्ताहिक विदा र आईतबार रविदास जयन्तीका कारण मधेश प्रदेशमा लगातार तीन दिन सार्वजनिक विदा हुने भएको छ ।





