राकेश यादव (औरही,महोत्तरी) – लोकआस्था, धार्मिक विश्वास र प्रकृतिप्रतिको कृतज्ञताको प्रतीकका रूपमा मनाइने छठ पर्वको पहिलो दिन शनिबार नहाय–खाय विधि गरिँदैछ। सूर्यदेव र छठी माताको उपासनामा समर्पित चारदिने यस पर्वको सुरुवातसँगै तराई–मधेसका विभिन्न जिल्लामा धार्मिक तथा सांस्कृतिक चहलपहल बढेको छ।
विशेषगरी मधेस प्रदेशका महोत्तरी, धनुषा, सर्लाही, सिरहा र सप्तरीलगायत जिल्लामा छठ पर्व विशेष उत्साह र श्रद्धाका साथ मनाइन्छ। यस पर्वले धार्मिक आस्था, पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउँदै आएको छ।



नहाय–खायका दिन व्रतालुहरूले बिहानै पवित्र नदी, पोखरी तथा जलाशयमा स्नान गरी घरआँगन सफा गरेर पर्वको सुरुवात गर्छन्। यस दिन शुद्धता र सात्विकतालाई विशेष महत्त्व दिइन्छ। परम्पराअनुसार चामल, चनाको दाल र लौकालगायतका मौसमी तरकारीबाट तयार पारिएको सात्विक भोजन ग्रहण गरिन्छ। व्रतालुहरूले पहिले भगवान् सूर्यलाई अर्पण गरेर त्यसपछि प्रसादका रूपमा भोजन ग्रहण गर्ने चलन छ।
नहाय–खायलाई शारीरिक तथा आध्यात्मिक शुद्धीकरण, आत्मअनुशासन र भक्तिभावको प्रतीकका रूपमा लिने गरिन्छ। यस दिनदेखि व्रतालुहरू शुद्धता र निष्ठाका साथ चार दिनसम्म चल्ने छठ पर्वका विभिन्न विधिमा सहभागी हुन्छन्।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ। यस अवधिमा व्रतालुहरूले सूर्यदेव र छठी माताको आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्छन्।
धार्मिक अनुष्ठानका साथै छठ पर्व प्रकृति र मानवबीचको गहिरो सम्बन्धको प्रतीकसमेत हो। सूर्यलाई जीवन, ऊर्जा र प्रकाशको स्रोतका रूपमा पूजा गरिने यस पर्वमा नदी, पोखरी तथा जलाशयको विशेष महत्त्व रहन्छ। छठका अवसरमा सामूहिक रूपमा घाटको सरसफाइ, सजावट र व्यवस्थापन गर्ने परम्पराले वातावरण संरक्षण र सामुदायिक एकताको सन्देशसमेत प्रवाह गर्दै आएको छ।
सांस्कृतिक दृष्टिले पनि छठ पर्वले मैथिली, भोजपुरीलगायत तराई–मधेसका समुदायको मौलिक परम्परा, लोकगीत, खानपान र सांस्कृतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यस पर्वका अवसरमा विभिन्न समुदायका मानिस एकै ठाउँमा भेला भई एकअर्काको संस्कृति र परम्पराप्रति सम्मान प्रकट गर्छन्।
सांस्कृतिक विविधताबीच आपसी सद्भाव र एकताको सन्देश दिने छठ पर्वले समाजमा सहिष्णुता, समानता र भाइचाराको भावना अभिवृद्धि गर्नसमेत सहयोग पुर्याउँदै आएको छ।
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेको छ। मन्त्रालयले छठ पर्वले धार्मिक आस्था, पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र सांस्कृतिक एकताको बन्धनलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।




