जनकपुर – विश्व वातावरण दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कायापलट, सवल नेपाल, एम्नेष्टि इन्टरनेशनल नेपाल तथा मानवअधिकारका लागि महिला एकल समूहको संयुक्त आयोजनामा २०८३ जेठ २२ गते जनकपुरधाममा “वातावरणीय अधिकार विषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरीले वातावरण संरक्षणका लागि केवल वृक्षारोपण गर्नु मात्र पर्याप्त नहुने भन्दै रोपिएका बिरुवाको संरक्षण अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो। उहाँले यसलाई सबैको साझा दायित्वका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।




मन्त्री चौधरीले विगतमा बजेट खर्च गरी उपभोक्ता समूह तथा विभिन्न समितिमार्फत वृक्षारोपण गर्ने अभ्यास भए पनि बिरुवाको संरक्षण प्रभावकारी हुन नसकेको उल्लेख गर्दै अहिले मन्त्रालय मातहतका कर्मचारीहरूलाई नै वृक्षारोपण तथा संरक्षणको जिम्मेवारी दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार रोपिएका बिरुवाको संरक्षणसमेत सम्बन्धित कर्मचारी स्वयंले गर्नुपर्ने व्यवस्था गरिएको छ।
उहाँले वातावरण संरक्षणको जिम्मेवारी प्रदेश सरकार वा स्थानीय तहको मात्र नभई सम्पूर्ण नागरिकको दायित्व भएको स्पष्ट पार्नुभयो। वन विनाश, चुरे दोहन तथा प्राकृतिक स्रोतको क्षयका कारण पर्यावरणमा गम्भीर असर परिरहेको उल्लेख गर्दै विकास निर्माण र बस्ती विस्तारसँगै वृक्षारोपणलाई अनिवार्य बनाउनुपर्ने धारणा राख्नुभयो। चुरे क्षेत्र मधेसको जीवनरेखा भएकाले यसको संरक्षणका लागि सरकार, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीय समुदाय सबै मिलेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। मन्त्रालयले अपेक्षाअनुसार बजेट प्राप्त गर्न नसकेकाले कार्यान्वयनमा चुनौती रहेको पनि उहाँले बताउनुभयो। नदी, नाला तथा जलस्रोतको संरक्षण गर्न सके जलवायु परिवर्तनबाट उत्पन्न धेरै समस्या न्यूनीकरण गर्न सकिने उहाँको धारणा थियो।

कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय प्रमुख बुद्धनारायण सहनीले स्वच्छ र स्वस्थ वातावरण प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यस अधिकारको प्रत्याभूति सबै नागरिकले पाउनुपर्ने बताउनुभयो। उहाँले फोहोर व्यवस्थापनको जिम्मेवारी केवल स्थानीय तह वा सरकारमाथि मात्र थोपर्न नहुने भन्दै नागरिक स्वयं पनि जिम्मेवार हुन आवश्यक रहेको धारणा राख्नुभयो। वातावरण संरक्षणका लागि घर, विद्यालय, समुदाय तथा सार्वजनिक स्थलबाटै सकारात्मक अभ्यास सुरु गर्नुपर्ने उहाँको भनाइ थियो। सरकार, नागरिक समाज, निजी क्षेत्र र समुदायबीच समन्वय र सहकार्य बढाउन सके वातावरणीय चुनौतीको प्रभावकारी समाधान सम्भव हुने उहाँले बताउनुभयो।
कार्यक्रमको अध्यक्षता गर्नुभएका इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले वातावरणीय अधिकार तथा मानव अधिकारका विषयमा आवाज उठाउने मानव अधिकारकर्मीहरूले विभिन्न प्रकारका धाकधम्की तथा असुरक्षाको सामना गर्नुपरेको उल्लेख गर्दै उनीहरूको सुरक्षाका लागि छुट्टै कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो। उहाँले मानव अधिकारकर्मी सुरक्षा ऐनलाई प्राथमिकताका साथ अघि बढाउन प्रदेश सरकार र नीति निर्मातालाई आग्रह गर्नुभयो।
त्यसैगरी अधिकारकर्मी ज्योति ठाकुरले वातावरणीय प्रदूषण, अत्यधिक गर्मी तथा स्वच्छ खानेपानीको अभावका कारण जनस्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको बताउनुभयो। उहाँले विशेषगरी विद्यालय जाने बालबालिकाहरू सुरक्षित खानेपानी र स्वस्थ वातावरणबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै यसले उनीहरूको स्वास्थ्य तथा शिक्षाको अधिकारमा समेत असर पारेको बताउनुभयो।
वातावरणीय अधिकार सञ्जाल मधेस प्रदेशका संयोजक धीरज शाहले स्वच्छ वातावरणबाट वञ्चित हुनु मानव अधिकारबाट वञ्चित हुनु सरह भएको टिप्पणी गर्नुभयो। वातावरण, वन तथा प्राकृतिक स्रोतसम्बन्धी नीति तथा कार्यक्रम निर्माण गर्दा युवाहरू, स्थानीय समुदाय तथा सरोकारवालासँग परामर्श गरी सहभागितामूलक ढंगले अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो। नीति निर्माण प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित भएमा वातावरण संरक्षणका अभियान अझ प्रभावकारी हुने उहाँको धारणा थियो।
कायापलटका संस्थापक दिवाकर उप्रेतीले जलवायु परिवर्तनका कारण मधेस प्रदेशमा बढ्दो तापक्रम, गर्मीको लहर, चुरे क्षेत्रको विनाश, जलस्रोत संकट तथा प्लास्टिक प्रदूषण गम्भीर चुनौतीका रूपमा देखिएको बताउनुभयो। उहाँले जलवायु परिवर्तनले वातावरणीय मात्र नभई सामाजिक तथा आर्थिक असमानता पनि बढाइरहेको उल्लेख गर्दै प्रभावित समुदायको आवाज नीति निर्माण प्रक्रियामा समेटिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले प्लास्टिक प्रदूषण नियन्त्रण, हरित विकास प्रवर्द्धन, जलस्रोत संरक्षण तथा चुरे क्षेत्रको दीर्घकालीन संरक्षणका लागि प्रभावकारी योजना आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा कायापलटले वन मन्त्री चौधरी तथा आयोग प्रमुख सहनीसमक्ष मधेस प्रदेशका युवाहरूको साझा मागपत्र हस्तान्तरण गरेको थियो। त्यसैगरी इन्सेक प्रदेश संयोजक पासवानले प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई विश्व वातावरण दिवसको अवसरमा बिरुवा उपहार प्रदान गर्नुभयो।
कार्यक्रममा कायापलट, डीसीए, इन्सेक लगायत विभिन्न संघसंस्था, मानव अधिकारकर्मी, वातावरणीय अभियन्ता, युवा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।





