विश्वमा कैयौँ खेल खेलिन्छन् तर कुनै खेल फुटबलको छेउछाउमा छैन । फुटबलको आकर्षण नै भिन्न छ । विश्वभर खेलिने फुटबल लोकप्रिय पनि छ । त्यसैले त फुटबललाई खेलहरूको राजा भनिन्छ । प्रायः देशमा संस्कृति र धर्म नै बनिसके फुटबल । त्यसैले त मैदानमा खेलाडीहरू बलको पछाडि दौडँदा उनीहरूको चालसँगै समर्थकको मुटुको धड्कन पनि त्यही गतिमा चलिरहेको हुन्छ । अझ यसको चरम विन्दु हो, फिफा विश्वकप फुटबल ।
विश्वकप फुटबलको २३ औँ संस्करण अमेरिका, मेक्सिको र क्यानडामा सुरु भइसकेको छ । विश्वका एक से एक खेलाडी आफ्नो जीवनकै उत्कृष्ट खेल खेलेर पाँच हप्तापछि फिफा विश्वकप ट्रफी चुम्ने पर्खाइमा छन् । विश्वकप फाइनल अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुने छ । सो राति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नुहुने छ ।



प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप फुटबल खेलकुद प्रतियोगिता मात्र होइन, यो विश्वव्यापी चाड हो । विश्वको सबभन्दा ठुलो र प्रतिष्ठित प्रतियोगिता ओलम्पिकलाई मानिन्छ तर ओलम्पिकभन्दा बढी दर्शकलाई आकर्षित गर्ने प्रतियोगिता हो विश्वकप फुटबल । त्यसैले यस पटकको विश्वकप विश्वको कुल जनसङ्ख्यामध्ये ५८ प्रतिशतले हेर्ने अनुमान गरिएको छ । पछिल्लो विश्वकप नै विश्वका आधा जनसङ्ख्याभन्दा बढीले हेरेका थिए । विश्वकै नजरमा रहेको यस विश्वकपलाई आयोजक तीन देशले भव्य पार्न कुनै कसर नछोड्ने पक्का छ । विश्वकप, ओलम्पिक जस्ता खेलकुद महाकुम्भ आयोजना गर्नु भनेको समृद्धि देखाउने अवसर पनि हो । यसपालि मात्र ६५ लाख पर्यटक उत्तर अमेरिका पुग्ने अनुमान गरिएको छ । उत्तर अमेरिकाका यी तीन देशले विश्वकपका लागि रङ्गशाला स्तरोन्नति, यातायात, सुरक्षालगायतमा १२ बिलियन डलरभन्दा बढी खर्च गर्ने बताइएको छ । एक अनुमान अनुसार प्रतियोगिताले उत्तर अमेरिकी अर्थतन्त्रमा लगभग पाँच अर्ब डलर थप्ने छ । फिफाले मात्र यस पटक विश्वकपबाट ११ अर्ब डलर कमाउने अपेक्षा गरिएको छ । होटेल, उद्योग, उड्डयन, स्थानीय पर्यटन र विज्ञापन क्षेत्रहरूका लागि सुनौलो अवसर हुने छ विश्वकप । आर्थिक रूपमा मात्र होइन, सामाजिक पक्षबाट पनि विश्वकपको ठुलो महत्व छ । विश्वभरबाट लाखौँ प्रशंसक आउने भएकाले ठुलो मात्रामा सांस्कृतिक आदानप्रदान पनि हुने छ ।

उत्तिकै चुनौती
विश्वकप–२०२६ कूटनीतिक चिसोपना, यात्रा प्रतिबन्ध, कठोर आप्रवासन नीति, युद्धको भयमा पनि हुँदै छ भन्दा फरक पर्दैन । सन् २०१७ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा विश्वकप आयोजना जित्दा उनीहरूको सम्बन्ध जटिल थिएन तर अहिले व्यापार, आप्रवासन र सीमा नीतिका विषयमा अमेरिकाका आफ्ना दुई छिमेकी देशसँगको सम्बन्धमा केही चिसिएको अवस्था छ । विश्वकपमा भाग लिने केही देश अमेरिकामा प्रतिबन्धित छन् । खेलाडी, प्रशिक्षक र टिम अफिसियल मात्र यस प्रतिबन्धबाट मुक्त हुने छन् । यस पटकको विश्वकपका टिकट अहिलेसम्मकै सबैभन्दा महँगा छन् । त्यसमाथि इरान युद्धका कारण हवाई भाडा पनि चर्किएको छ ।
अमेरिकामा भिसा प्रक्रिया कठिन छ । यी कुराले समर्थकलाई अमेरिका आउनबाट रोक्ने देखिन्छ । भिसा पाएका धेरै अफ्रिकी समर्थक पनि अमेरिकी एयरपोर्टमा घन्टौँ सफाइ दिनुपर्ने र मोबाइल जाँच हुने स्थिति आउन सक्ने हुँदा अमेरिका छाडेर क्यानडा वा मेक्सिको जाँदै छन् भन्ने चर्चा गरिएको छ । यस पटक विश्वकपमा अफ्रिकाका मात्र १० राष्ट्र सहभागी छन् ।
यस विश्वकपको सबैभन्दा जटिल पाटो इरानसँग सम्बन्धित छ । यो पहिलो विश्वकप हो; जसमा आयोजक देश आफू युद्धरत देशलाई सहभागी गराउँदै छ । इरान अन्तिम समयमा मात्र अमेरिकामा खेल्न राजी भएको हो । यद्यपि इरानले आफ्नो प्रशिक्षिण शिविर मेक्सिकोमा सारेको छ । इरानी टिमले विश्वकप सुरु हुनुभन्दा १० दिनअघि मात्र भिसा प्राप्त गरेको थियो ।
यसबाहेक अत्यधिक गर्मी पनि चुनौती हुने छ । उत्तर अमेरिकामा जुन र जुलाईमा अत्यधिक गर्मी र आद्र्रता हुने गर्छ । स्वास्थ्यविद्ले यस्तो अवस्था खेलाडी र प्रशंसक दुवैका लागि खतरनाक साबित हुन सक्ने बताएका छन् । मियामी, क्यान्सस सिटी, फिलाडेल्फिया जस्ता सहरमा गर्मी अझ उच्च छ । फिफाले यसलाई समाधान गर्न ‘कुलिङ ब्रेक’ र अन्य सुरक्षा उपायमा विचार गरिसकेको छ । हुन त सन् १९९४ मा पहिलो पटक विश्वकप फुटबल आयोजना गर्ने समयमा पनि अमेरिकामाथि संशय गरिएको थियो । त्यसबेला अमेरिकामा फुटबल होइन; अमेरिकी फुटबल, बेसबल र बास्केटबल लोकप्रिय थियो । अमेरिका फुटबललाई मन पराउँदैनथ्यो तर तीन दशकमा अहिले तस्बिर बदलिइसकेको छ । अमेरिकामा फुटबल अहिले लोकप्रिय खेलमध्ये एक बनिसकेको छ । विश्व फुटबलमा अमेरिकाको उपस्थिति बलियो पनि छ । अमेरिकाको महिला फुटबल टिम चार पटक विश्व च्याम्पियन बनेपछि यस देशमा यो खेलप्रति अमेरिकी जनता आकर्षित भएका हुन् भन्दा फरक पर्दैन ।
त्यसैले त्यतिबेला प्रतिकूल परिस्थितिमै विश्वकपको सफल आयोजना गरेर आफूमाथिको आशङ्कालाई गलत साबित गरेको अमेरिकाबाट यसपालि अझ धेरै अपेक्षा गरिएको छ । अमेरिका पुनः विश्वकप फुटबलबाट विश्वलाई लोभ्याउन चाहन्छ, भव्य र सफल आयोजना गरेर । यसमा क्यानडा र मेक्सिको सारथि बनेका छन् । मेक्सिको पनि विश्वकप आयोजनाको अनुभवी हो । उसले सन् १९७० र १९८६ मा यो प्रतियोगिता आयोजना गरिसकेको छ । क्यानडाले भने पहिलो पटक विश्वकप आयोजना गरेको हो ।
अमेरिका, क्यानडा र मेक्सिकोले कैयौँ राष्ट्रलाई पछाडि पारेर विश्वकपको २३ औँ संस्करण आयोजना गर्नका लागि बाजी मारेका हुन् । रुसको मस्कोमा भएको फिफा सम्मेलनमा संयुक्त रूपमा आयोजनाको दाबेदारी प्रस्तुत गरेको अमेरिका, मेक्सिको र क्यानडाले मोरक्कोलाई पछाडि पारेको थियो । दुई सय राष्ट्रिय फुटबल सङ्घले दिएको मतदानमा संयुक्त दाबेदारीलाई १३४ र मोरक्कोलाई ६५ मत प्राप्त भएको थियो । यी तीन देशको आयोजनालाई विशेष रूपमा पोर्चुगल, स्पेन र मोरक्कोले सूक्ष्म रूपमा अवलोकन गर्ने छन् । किनभने सन् २०३० को विश्वकप तीन देशले संयुक्त रूपमा आयोजना गर्ने छन् । २४ औँ संस्करणको विश्वकप आयोजनाको जिम्मेवारी पोर्चुगल, स्पेन र मोरक्कोलाई दिइएको छ ।
नयाँ स्वरूपको विश्वकप
यसपालि फिफाले विश्वकपलाई विस्तारित गरेको छ । फिफाले १६ राष्ट्र थपेर सहभागी सङ्ख्या ४८ बनाउनु नै यस विश्वकपको सबभन्दा ठुलो विशेषता हो । सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपमा १३ राष्ट्रले भाग लिएका थिए । दोस्रो विश्वकपमा तीन टिम थपेर १६ राष्ट्रले खेले । त्यसपछि सन् १९८२ मा भएको विश्वकपमा खेल्ने राष्ट्रको सङ्ख्या २४ पु¥याइयो । यसबिच दोस्रो विश्वयुद्धका कारण चौथो विश्वकप पुनः १३ टिमबिच भएको थियो । सन् १९९८ देखि २०२२ सम्म ३२ राष्ट्रले विश्वकप खेले । सहभागी टिम बढेपछि विश्वकपको समय पनि लामो हुने नै भयो । खेल पनि बढ्ने नै भयो । विश्वकपको अवधि पनि ३९ दिनसम्म चल्ने छ । विश्वकपको कुल १०४ खेल हुने छ; तीमध्ये अमेरिकामा सबभन्दा बढी ७६ खेलाइने छ । क्वाटरफाइनल, सेमिफाइनल र फाइनल आयोजना गर्ने जिम्मेवरी पनि अमेरिकाकै छ । यसै गरी अमेरिकाका ११ सहर न्युयोर्क, बोस्टन, मियामी, फिलाडेल्फिया, एट्लान्टा, डालास, हस्टन, कानास, लस एन्जल्स, सान फ्रान्सिस्को र सियाटलका रङ्गशालामा विश्वकपका प्रतिस्पर्धा हुने छ । यसै गरी मेक्सिकोका तीन सहर मेक्सिको सिटी, मोन्टरेरी र गुवाडालाजारामा कुल १३ खेल खेलिने छ । क्यानडाको भागमा पनि १३ खेल परेको छ । ती खेल टोरन्टो र भानकुभरमा खेलाइने छ ।
विश्वकपमा पहिलो पटक एक सयभन्दा बढी खेल हुने भएपछि चार समूह थप गरिएको छ । यसपालिको विश्वकपमा १२ समूह छन् । विगतमा समूह चरणबाट सिधै प्रिक्वाटरफाइनलमा खेलाइन्थ्यो । यस पटक प्रत्येक समूहका शीर्ष दुई टिम र तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टिम अन्तिम ३२ मा पुग्ने छन् । ठुला टिमलाई समूह चरणमा त्यति जोखिम नभए पनि उपाधि जित्न पाँच नकआउट खेल जित्नुपर्ने भएकाले गल्ती गर्ने छुट हुने छैन ।
उपाधि दाबेदार
इतिहास पल्टाउने हो भने छ पटक आयोजक राष्ट्रले विश्वकप जितेको तथ्य भेट्टाउँछौँ । सन् १९३० मा उरुग्वे, सन् १९६६ मा इङ्ग्ल्यान्ड सन् १९७४ मा पश्चिम जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् १९९८ मा फ्रान्स आफ्नै घरेलु भूमिमा खेलेर च्याम्पियन बनेका थिए । यद्यपि यसपालि तिनै आयोजकलाई उपाधि दाबेदारका रूपमा लिइएको छैन । यसपालि विश्वकप जित्ने प्रबल दाबेदारमा स्पेन, फ्रान्स, अर्जेन्टिना र इङ्ग्ल्यान्डलाई लिइएको छ । विश्वस्तरीय खेलाडीको सहभागिता, हालको लय, विगतको प्रदर्शन जस्ता विषयले यी टिम विश्वकपमा प्रबल दाबेदारका रूपमा रहेका हुन् ।
स्पेनलाई विश्वकप–२०२६ को सम्भावित विजेताका रूपमा लिइएको छ । सन् २०१० को च्याम्पियन बनेपछि स्पेनले निरन्तर आफूलाई शीर्ष टिम साबित गरेको छ । स्पेन युरो–२०२४ र नेसन्स लिग–२०२३ को विजेता पनि हो । यसपालि फ्रान्सले पनि विश्वकप जित्ने दाबी गर्दै छ । पछिल्लो संस्करणमा उपाधिको नजिक पुगेर पनि फ्रान्स अर्जेन्टिनासँग टाइब्रेकरमा हारेर निराश बनेको थियो । यसपालि पनि फ्रान्सको टिममा विश्वस्तरीय खेलाडी भरिभराउ छ । अझ बेन्च पनि उत्तिकै सशक्त भएकाले फ्रान्सलाई विश्वकप जित्नेमा धेरै भाउ दिइएको छ । फ्रान्स पछिल्ला सात संस्करणमध्ये चारमा फाइनलमा पुगेको छ ।
मेसीको अर्जेन्टिनालाई भुल्नु हुँदै छ । यसपालि अर्जेन्टिनासँग उपाधि रक्षा गर्ने मौका छ । अहिलेसम्म ब्राजिल र इटालीले मात्र विश्वकप उपाधि रक्षा गरेका छन् । त्यो पनि धेरै पहिले । अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन पनि हो । यसै गरी इङ्ग्ल्यान्डलाई पनि दाबेदारको सूचीबाट हटाउन मिल्दैन । ६० वर्षअघि विश्वकप जितेको इङ्ग्ल्यान्डले कैयौँ पटक नजिक पुगेर पनि प्रमुख उपाधि जित्न सकेको छैन । यसपालि विश्वकप छनोट चरणमा इङ्ग्ल्यान्डले शतप्रतिशत जितको नतिजा बनाउने क्रममा सबै खेलमा ‘क्लिन सिट’ बनाएको थियो । विश्वकपमा ठुलो इतिहास बोकेका ब्राजिल र जर्मनी तथा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले प्रबल दाबेदारहरूलाई बाधा पार्न सक्छन् । ब्राजिल विश्वकपमा छुटाउन नहुने नाम हो भने जर्मनीलाई पनि दाबेदारबाट बाहिर निकाल्नु कहिल्यै बुद्धिमानी हुँदैन । यद्यपि यसपालि ब्राजिल र जर्मनीभन्दा पनि पोर्चुगल बलियो देखिन्छ । पोर्चुगलका सुपरस्टार रोनाल्डोसमक्ष आफूलाई लोभ्याइरहेको विश्वकप उपाधि जित्ने अन्तिम मौका छ । पोर्चुगलसँग यसपालि पनि विश्वस्तरीय खेलाडीको भण्डार छ । गत वर्ष कार दुर्घटनामा निधन भएका आफ्ना खेलाडी डियोगो जोटाकै लागि भए पनि पोर्चुगल यस पटक विश्वकप उपाधि जित्न चाहन्छ । यसै गरी नेदरल्यान्ड्स, नर्वे, बेल्जियम, कोलम्बिया र मोरक्को पनि यस विश्वकपमा लामो दुरी तय गर्ने टिम हुन् ।
हेर्नलायक खेलाडी
फुटबल टिम भावनामा खेल्ने खेल हो । एक खेलाडीले मात्र कहिल्यै टिमलाई जिताउन सक्दैन । मैदानमा ११ जनाकै प्रयास उत्तिकै महत्वपूर्ण हुन्छ । विश्वकप जस्तो ठुलो प्रतियोगितामा उपाधि जित्न ११ जना मात्र होइन, बेन्च पनि सशक्त हुन आवश्यक छ । सन् १९८६ मा डियगो म्याराडोनाले इङ्ग्ल्यान्डविरुद्ध खेल्दा नौ खेलाडीलाई छलाएर गरेको गोल कहिलेकाहीँ मात्र सम्भव हुन्छ । यसो भए पनि विश्वकपमा त्यस्ता केही खेलाडी हुन्छन्; जसले विश्वकप दिलाउने आशा समर्थकले राखेका हुन्छन् । यसपालि मेसी, रोनाल्डो, किलियन एमबापे (मेसी र रोनाल्डोका उत्तराधिकारी मानिएका), हालका सबभन्दा खतरनाक स्ट्राइकर इर्लिङ हालान्ड, सर्वाधिक प्रतिभाशाली युवा खेलाडी लामिने यमाल, बालोन डि’ओर, विजेता उस्मान डेम्बेले, फुटबलका जादुगरहरू नेमार र मोहम्मद सलाह, इङ्ग्ल्यान्डका प्रतिभाशाली मिडफिल्डर युड, अमेरिकी फुटबल स्टार क्रिस्टियन पुलिसिकलाई यस विश्वकपका विशेष खेलाडीका रूपमा हेरिएको छ । अझ यस विश्वकपमा आधुनिक फुटबलका दुई महान् खेलाडी मेसी र रोनाल्डोबिच पुनः उत्कृष्टताको लडाइँ हुने छ । मेसीले चार वर्षअघि कतारमा अर्जेन्टिनालाई विश्वकप जिताउँदै आफ्नो खेल जीवनको सबभन्दा ठुलो सपना पूरा गर्नुभयो तर रोनाल्डोलाई अझै विश्वकप ट्रफीले लोभ्याइरहेको छ । विश्वका धेरै जसो समर्थक अहिले उहाँको अन्तिम विश्वकपमा रोनाल्डोको यो इच्छा पूरा होस् भन्ने प्रार्थना पनि गरिरहेका छन् ।
नवप्रवेशी चार टिम
यस विश्वकपका नवप्रवेशी टिमलाई कमजोर ठान्नु हुँदैन । विश्वकपमा धेरै उदाहरण छन्– नवप्रवेशी टिमले सशक्त टिमलाई स्तब्ध बनाएर विश्वलाई नै आश्चर्यचकित बनाएका । क्रोएसियाले पनि सन् १९९८ मा पहिलो सहभागितामै तेस्रो स्थान प्राप्त गरेर नवप्रवेशी टिम उपाधिको नजिक पनि पुग्न सक्छ भन्ने प्रमाणित गरिसकेको छ । पहिलो पटक यस विश्वकपमा खेल्ने सौभाग्य पाएका उज्बेकिस्तान र जोर्डनले यस्तो स्तब्धकारी नतिजा निकाल्यो भने आश्चर्य नमाने हुन्छ । उनीहरूले विश्वकपमा सहभागी जनाएर नै पहिलो इतिहास बनाइसकेका छन् । विश्वकपमा पहिलो पटक छनोट हुनु पनि विश्वकप उपाधि जित्नु बराबर हुन्छ । यसकारण नवप्रवेशी टिमलाई विश्वकपमा उपाधि जित्ने दबाब हुँदैन; जुन विश्वकपमा आश्चर्यजनक नतिजा निकाल्ने प्रमुख पक्ष हो ।
दर्शकदीर्घामा चर्चित खेलाडी
हरेक विश्कप फुटबल प्रतियोगितामा चोट, छनोट हुन नसक्ने लगायतका कारण केही उत्कृष्ट खेलाडी मैदानबाहिर रहेर टुलुटुल विश्वकप हेर्न बाध्य हुन्छन् । विश्वका अति राम्रा खेलाडीलाई यो क्षण निकै पीडादायक हुने गर्छ । यसपालि पनि विश्वचर्चित खेलाडीहरू विश्वकपको दर्शक मात्रै हुने छन् ।
फ्रान्सका स्ट्राइकर ह्युगो इकिटिके, ब्राजिलका स्टार खेलाडीद्वय रोड्रिगो र इडर मिलिटाओ, जर्मनी तथा बायर्न म्युनिखका फरवार्ड सर्जी गाब्री, अर्जेन्टिनाका जोयहिन पानिचेली, इङ्ग्ल्यान्डका बेन ह्वाइट, नेदरल्यान्ड्सका जाभी सिमन्स, आयोजक अमेरिकाका क्यामरन कार्टर–भिकर्स, प्याट्रिक एजिमाङ, जोन कार्डोसो, स्कटल्यान्डका बिली गिलमर र स्पेनको फर्मिन लोपेज चोटका कारण विश्वकपमा देखिनुहुने छैन । प्रिमियर लिग स्टारहरू कोल पाल्मर, फिल फोडेन, ह्यारी म्यागुयर, ट्रेन्ट अलेजान्डर बर्नोल्ड, फ्रान्सका मिडफिल्डर एडवार्डो कामाभिङ्ग र अर्जेन्टिनाका पाउलो डिबालाले पनि आआफ्ना प्रशिक्षकको विश्वास नै जित्न सक्नुभएन ।
यस विश्वकपमा चार पटकको विजेता इटाली चयन हुन नसक्नु सबभन्दा ठुलो समाचार बन्यो । प्लेअफमा बोस्निया एन्ड हर्जगोभिनासँग प्लेअफमा पराजित भएपछि इटाली लगातार तेस्रो पटक विश्वकपमा चयन हुन असफल भएको थियो । इटाली बाहिरिएपछि गोलरक्षक गियानलुइजी डोनारुमा र मिडफिल्डर सान्ड्रो टोनाली, बास्तोनी जस्ता खेलाडीको खेल विश्वकपमा हेर्न नपाइने भएको छ । विश्वकपमा चयन नभएपछि पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई क्यामरुनका ब्राउन एमबुएमा, नाइजेरियाका फरवार्ड भिक्टवर ओसिमहेन र एडेमोला लुकम्यान जस्ता खेलाडीको खेल पनि यस विश्वकपमा मिस हुने भएको छ । यसै गरी जर्जियाका कभारा केभित्सखलिया र हङ्गेरीका डोमिनिक सोबोस्लाई पनि अमेरिका, मेक्सिको र क्यानडाको मैदानमा देखिने छैन ।




